स्टिङ अपरेसनमा नयाँ रेकर्ड, तर घटेन भ्रष्टाचार

८ साउन, काठमाडौं । भ्रष्टाचारीलाई ठाउँका ठाउँ पक्राउ गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गर्दै आइरहेको स्टिङ अपरेसन प्रभावकारी देखिए पनि भ्रष्टाचार भने घटेको छैन ।

अख्तियारले स्टिङ अपरेसनलाई सशक्त बनाएको दाबी गरे पनि भ्रष्टाचार नियन्त्रण भने निकै चुनौतीपूर्ण देखिएको छ ।

आर्थिक वर्ष २०७६र७७ मा अख्तियारले घुस रिसवतसम्बन्धी २ सय ५ वटा मुद्दा दायर गरेकामा ती मुद्दामा ६ करोड ९१ लाख ४९ हजार ७० रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

रंगेहात पक्राउ गरिएका व्यक्तिको मुद्दामा अख्तियारले प्रायः जित्दै आएको छ । रंगेहात पक्राउ परेका भ्रष्टाचारीबाट बिगो असुल भएमा राज्यकोषमा एक वर्षमा झन्डै ७ करोड जम्मा हुने देखिएको छ ।

अख्तियारले आर्थिक वर्ष २०७६र७७ मा जारी गरेको विज्ञप्ति र उसले विशेष अदालतमा दायर गरेको मुद्दाको विश्लेषण गर्दा स्टिङ अपरेसन प्रभावकारी भएको पाइएको हो । यद्यपि, राष्ट्रसेवक कर्मचारीमा घुस असुल्ने प्रवृत्तिमा भने कमी आएको छैन ।

अख्तियारले स्टिङ अपरेसन बढाए पनि कर्मचारीको घुस खाने प्रवृत्ति नरोकिँदा भ्रष्टाचार नियन्त्रण थप चुनौतीपूर्ण देखिएको हो । अहिले पनि अख्तियारको हिरासतमा रंगेहात पक्राउ परेका १८ जना छन् । रंगेहात पक्राउ परेका व्यक्तिका कारण हिरासत भरिएको अख्तियारले जनाएको छ ।

आयोगको हालसम्मकै इतिहासमा गत आर्थिक वर्षमा सबैभन्दा बढी ४ सय ४१ वटा मुद्दा दायर गरिएकामा घुस रिसवतसम्बन्धी मुद्दामा पनि अख्तियारले नयाँ रेकर्ड कायम गरेको हो । अख्तियारको एक वर्षको प्रगति विवरण समीक्षा गर्दा २ सय ५ वटा घुस रिसवतका मुद्दामा १ सय ८१ वटा स्टिङ अपरेसनका छन् । बाँकी २४ वटा मात्रै अन्य प्रकृतिका मुद्दा रहेका छन् ।

अख्तियारको वार्षिक प्रगतिलाई विश्लेषण गर्दा औसतमा एक मुद्दा बराबर ३ लाख ३७ हजार घुस लिएको देखिएको छ ।

१ वर्षको अवधिमा मात्रै घुस रिसवतसम्बन्धी कारबाहीमा २ सय ८ जना राष्ट्रसेवकसहित २ सय ७७ जनालाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको थियो । त्यस आवमा जम्मा २ सय ९६ दिन कार्यालय खुलेको हिसाबअनुसार प्रतिदिन एक जना व्यक्ति घुस रिसवत कारबाहीमा परेको पाइएको छ ।

अख्तियारले लकडाउनको अवधिमा मात्रै विभिन्न प्रकृतिका ९७ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । सो अवधिमा ३ हजार ३ सय ७५ वटा उजुरी परेका थिए । आजको राजधानी दैनिकबाट

प्रकाशित मिति : २०७७ साउन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस