व्यवस्थापन समितिबाटै विद्यालयमा तालाबन्दी

८ साउन , सिन्धुली । सिन्धुलीको गोलाञ्जोर गाउँपालिका५, खनियाखर्कस्थित जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर विवाद हुँदा विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घले मङ्गलबार अनिश्चितकालीन तालाबन्दी गरेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार विद्यालयमा कार्यरत प्रधानाध्यापक नवराज थापाले गत फागुनमा पदबाट राजीनामा दिएपछि विद्यालय व्यवस्थापन समितिले प्रअ नियुक्तिका लागि सहायक प्रधानाध्यापक रमेश वर्मालाई सिफारिस गरेको थियो । गाउँपालिकाले विद्यालयमा कार्यरतमध्ये वरिष्ठताका आधारमा शिक्षक सुमन कोइरालालाई प्रअ नियुक्त गरेपछि विवाद उत्पन्न हुँदा तालाबन्दी गरिएको हो ।

असार २७ गते उनको प्रअ नियुक्तिसँगै ६ महिनादेखि रोकिएको शिक्षक तथा कर्मचारीले तलब खान पाएका थिए । उक्त वडाका अध्यक्ष बुद्धिबहादुर पाल्पाली भने विद्यालय व्यवस्थापन समितिका केही व्यक्तिले बखेडा निकालेको बताउँछन् । उनले भने, ‘विद्यालय व्यवस्थापन समिति गठन गर्ने बेलामा उक्त समितिको अध्यक्ष र अभिभावक सङ्घको अध्यक्ष नेकपालाई दिने र विद्यालयको प्रअ नेपाली कांग्रेस निकट शिक्षकलाई दिने सहमति भएको थियो । सोहीबमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घ गठन गरियो ’

अहिले सहमति कार्यान्वयन गर्न खोज्दा विद्यालयको प्रअ पनि आफैँलाई चाहिने भनी नेकपाका व्यक्तिले बखेडा निकालेर विद्यालयमा तालाबन्दी गरेको उनले बताए । अहिले गाउँपालिकाले प्रअ नियुक्त गरेका शिक्षक सुमन कोइराला विद्यालयमा कार्यरत शिक्षकमध्ये सबैभन्दा ज्येष्ठ भएको र प्रअ पनि उनले नै पाउनुपर्ने वडाध्यक्ष पाल्पालीले बताए ।

गत असार १८ गते एसईईको नम्बर पठाउन सामान्य छलफल भनी विद्यालय व्यवस्थापन समितिको बैठक बोलाई खाली माइन्युटमा सदस्यलाई सही गर्न लगाएरपछि रमेश वर्मालाई प्रअ बनाउने निर्णय गरेर गाउँपालिकामा पेस गरेको समेत पाइएको वडाध्यक्ष पाल्पालीले जानकारी दिए । आजको गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७ साउन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस