११साउन, रोल्पा । सहिद मार्ग र ग्रामीण भेगमा रहेका भित्री सडकहरूमा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिले बर्सातको समयमा यात्रामा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै यातायात सञ्चालनमा रोक लगाएको हो ।
बर्सातका कारण बाढी पहिरो गई सडक अवरुद्ध हुने र सार्वजनिक यातायातका सवारी साधन प्रभावित हुन सक्ने जोखिम रहेको भन्दै सहिद मार्ग र ग्रामीण भेगमा रहेका भित्री सडकहरूमा समेत रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
जिल्ला सुरक्षा समिति रोल्पाको शनिबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकबाट भाद्र १५ गतेसम्म बेलुकी ६ बजेदेखि बिहान ५ः३० बजेसम्म यातायात सञ्चालनमा पूर्ण रोक लगाएको हो ।
बर्सातको समय सुरु भएसँगै सडकका ठाउँठाउँमा पहिरो जाने तथा ठुलो जनधनको क्षति हुने सम्भावना रहेको भन्दै रातीको समयमा यातायात सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ।
जिल्लामा निर्माणाधीन अवस्थामा रहेको सहिद मार्गमा बर्सातका कारण ठाउँठाउँमा पहिरो जाने तथा ठूलाठूला ढुङ्गाहरू सडकमा खसी सडक अवरुद्ध हुने गरेको छ। भने कतिपय समयमा सुख्खा पहिरो समेत गइरहेकाले सो मार्गमा रातको समयमा सवारी साधन चलाउँदा अनपेक्षित रुपमा विपद्का कारण जनधनको क्षति हुने सम्भावनालाई दृष्टिगत गरी रोक लगाइएको रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी पदम बहादुर डाँगीले बताए।
‘बिरामी बोकेको वा आकस्मिक रुपमा बिरामी लिन हिँडेका एम्बुलेन्सको हकमा राजमार्गमा रहेका सुरक्षा एकाइहरूसँग समन्वय गरेर यातायात सञ्चालन गर्न सकिने छ’ उनले भने ।
त्यस्तै माडीचौर–घर्तीगाउँ (मदन भण्डारी राजमार्ग) मा हाल सडक स्तरोन्नतिको कार्य भई राखेकोले सो मार्गमा सडक खुल्ने अर्को सूचना जारी नहुँदासम्मको लागि सबै प्रकारका यातायातको साधनहरू लगायत पैदल यात्रीहरूलाई समेत आवतजावतमा रोक लगाउने निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समिति रोल्पाले गरेको यस्तो निर्णय सँगै सहिदमार्ग हुँदै राजधानी र दाङबाट रोल्पा र रुकुमका लागि चल्ने रात्रिबस प्रभावित भएका छन् । सहिदमार्गमा दाङको घोराही देखि रोल्पाको होलेरी–नुवागाउँ–तिला–घर्तीगाउँ–दुइखोली–थबाङ हुँदै रुकुम पूर्वसम्मको यातायात सञ्चालन प्रभावित बनेको छ ।
दाङको घोराही देखि रोल्पा होलेरी हुँदै रुकुम पूर्वसम्म जोडिएको २२० किलोमिटर रहेको सहिद मार्गको काम समयमै सम्पन्न हुन नसक्दा यहाँका नागरिकले वषौँ देहिन सास्ती खेप्नु परेको छ ।
तत्कालीन विद्रोही माओवादीले सुरु गरेका दश वर्षे सशस्त्र द्वन्द्व समयमा ज्यान गुमाएकाको सम्झनामा नामकरण गरिएको सहिदमार्गमा शान्ति प्रक्रिया पछि वि.स. २०६४/६५ बाट निर्माणको काम सुरु गरे पनि लामो समयसम्म पनि निर्माणको काम सम्पन्न हुन सकेको छैन् । सहिद मार्गको केही भागमात्र कालोपत्रे गरिएपनि अधिकांश भाग कच्ची नै रहेको छ ।
हिँउदमा धुलोको वर्खायाममा सडक भत्किने, पहिरो जाने र हिलाम्मे सडकका कारण नागरीले सधैँ सास्ती खेप्नु परेको छ। सहिद मार्ग सडक मात्र होइन, जिल्लाको अधिकांश ग्रामिण सडकको अवस्था पनि उस्तै रहेको छ ।


