
१२साउन, रोल्पा । बालकल्याण नमुना मावि लिबाङले अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता वीरेन्द्र डाँगी सम्मान गरेको छ । बालकल्याणका पूर्व विद्यार्थी समेत रहेका डाँगी हालै भारतमा हालै सम्पन्न कश्मिर ईन्टरनेशनल तेक्वान्डो च्याम्पियसीपमा ५४ केजी समूहको स्वर्ण विजयी हासिल गरेका थिए ।
डाँगीले दुई पटक अन्तराष्ट्रिय पदक हासिल गरी सकेका छन् । यस अघि उनले ईन्डो–नेपाल ईन्टरनेशनल तेक्वान्डो च्याम्पियन सीपमा रजत पदक प्राप्त गरेका थिए ।
२०७३ साल देखी खेल क्षेत्रमा प्रवेश गरेका डाँगी हाल व्ल्याक वेल्ट सेकेन्ड डन हुन । उनले राष्ट्रिय स्तरका दर्जनौ खेलमा समेत सहभागिता जनाई सकेका छन् । काठमाण्डौँमा सम्पन्न मेयर कप प्रतियोगितामा रजत पदक, उपराष्ट्रपति कप प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए ।
बालकल्याण नमुना मावि लिबाङबाट २०७६ सालमा एसईइ गरेका डाँगी हाल दाङ घोराही स्थित इमेज ईन्जिनियरिङ कलेजमा अमिन विषय समेत अध्ययन गरिरहेका छन् ।
उनले राष्ट्रपतिकप बाहेक सबै राष्ट्रिय अन्तराष्ट्रिय खेल आफ्नै लगानीमा खेलेको बताए । एक पटक खेल खेल्दा ठूलो धनरासी खर्च हुने भएपनि राज्यले त्यता तिर सहयोग नगरेको उनको गुनासो छ । राष्ट्रका लागि खेल खेलिन्छ, तर राष्ट्रले नै हेर्दैन उनले भने । खेल क्षेत्रमा राज्यको तर्फबाट लगानि र प्रोत्साहन नहँुदा खेलाडीहरु प्लायन हुने गरेको उनको भनाई छ ।
आफ्ना पूर्व विद्यार्थीले अन्तराष्ट्रिय पदक पाएकोमा गर्व लागेको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले बताए । विद्यालयको लगानीमा खेल जीवन आरम्भ गरेका उनले अहिले अन्तराष्ट्रिय खेलमा स्वर्ण पदक जितेर विद्यालयको शिर ठाडो परेका छन् प्रधानाध्यापकपोख्रेलले भने ।
कडा मेहनत र लगनशिलताले उनले अन्तराष्ट्रिय पदक जित्न सफलभएको उनको खेल प्रशिक्षक लोकेन्द्र सेनले बताए । खेलले खेलाडी स्वयमको मात्रै नभई विद्यालय र समग्र देशको प्रतिष्ठा बढाउन मद्धत गरेको प्रशिक्षक सेनको भनाई छ ।