छिमेकीको घरबाटै गायब : हत्या स्वीकार, शव भेटिएन

१४ साउन, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–६ रिजाका ४१ वर्षका ठाकुर नेपाली गत असार २३ गते बेलुकी छिमेकी लोकेन्द्र खड्काको घरमा रक्सी लिन गए ।

बेलुकी गएका ठाकुर अर्काे दिनसम्म पनि नफर्कीए पछि उनको खोजतलास सुरु भयो । सुरुमा कतै गएका होलान आई हाल्छन कि भन्ने भयो परिवारले पनि वास्ता गरेन । तर ५ दिनसम्म पनि ठाकुर घर नफर्किए पनि परिवारले असार २८ गते प्रहरी चौकी जुँगारमा खबर गरे । तर प्रहरीले पनि उनको न लाश न सास कुनै भेट्न सकेन ।

ठाकुर नभेटिएपछि प्रहरीले छिमेकी लोकेन्द्र खड्का र उनका पत्नी गौमाया घर्ती खड्कालाई पक्राउ गरी अनुसन्धान थाल्यो । आरोपित लोकेन्द्र खड्काले आपसी विबादका कारण ठाकुरको हत्या गरेको स्वीकार पनि गरे, तर लोकेन्द्रले शव गाडेको भनेको ठाउँमा मृतकको शव भने अझै फेला परेको छैन् ।

लोकेन्द्रले पहिरोमा लगेर शव गाडेको भनेपछि प्रहरी र स्थानीयले उक्त पहिरोमा शव खोज्यो तर भेटिएन । ‘उसले मारेर शव गाडेको भनेको सबै ठाउँमा खोजियो तर शब फेला परेको छैन्’ त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष लेखमणी डाँगीले बताउनुभयो । ‘कहिले पहिरोमा, कहिले जंगलमा खोजियो शव कतै फेला परेको छैन्’ वडाध्यक्ष डाँगीले भने ‘प्रहरी, जनप्रतिनिधि र स्थानीय खोज तलासमै छौं ।’

आरोपितले भनेको ठाउँमा तालिम प्राप्त कुकुरसहित खोजविन गर्दापनि शव फेला नपरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

आरोपितको पोलियोग्राफ परिक्षणका लागि भैरहवा पठाइएको छ । पोलियोग्राफ रिपोर्टले अनुसन्धानमा थप सहयोग पुग्ने प्रहरीले अपेक्षा गरेको छ ।

आरोपित लोकेन्द्र खड्का माओवादी पूर्व जनमुक्ती सेना हुन् । खड्का दम्पतिलाई व्यक्ति वेपत्ता पारेको कसुरमा अदालतबाट म्याद थपगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडित परिवारले सत्य तथ्य छानविन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोगमा पनि निवेदन दिएका छन् ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस