नेपालमा कोरोनाले थप ४ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

१६ साउन, काठमाडौं । नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साको वीरगन्जका थप तीन जना र ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको हो ।

पाटन अस्पतालको आईसीयूमा उपचाररत ६५ वर्षीया महिलाको शुक्रबार बिहान ९ बजे मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । उनी गत साउन ६ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । मृतक महिला ललितपुर थसिखेलकी बासिन्दा रहेको मन्त्रालयले जनाएको छ । उनी केही दिन अघि बीरगञ्जबाट आएकी थिइन् ।

यसैगरी पर्साका ५६ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक, वडा नम्बर २ छपकैयाका ६५ वर्षीय वृद्ध गरी तीन जनाको बिहीबार मृत्यु भएको हो ।

वीरगन्ज–२ छपकैयामा ६५ वर्षीय वृद्ध आफ्नै घरमा मृत फेला परेका थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । अन्य दुई जनाको भने उपचारका क्रममा अस्पतालमा निधन भएको हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

प्रकाशित मिति : २०७७ साउन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस