अवसरको चाङमाथि रोल्पा

रोल्पा चिनाउन थबाङको नाम लिनु पथ्र्यो । काठमाण्डौले थबाङमा रोल्पा पर्ने बुझ्थ्याे । रोल्पा जाने चिठ्ठी डोल्पा पुग्थे । गुमनाम थियो रोल्पा । लामो कालखण्ड गुमनाम रोल्पा २०५२ पछि भने एकाएक चर्चाको शिखरमा रह्यो । यो क्रम २०६३ सम्म निरन्तरतर रहिरह्यो । सशस्त्र युद्धको ईपिसेन्टर रोल्पा कसैको आदर्श थियो त कसैको आतंक । बुझाई अनुसारको व्यवहार भोग्यो रोल्पाले ।

पञ्चायतका ३० वर्ष रोल्पाका बालाराम घर्तीमगर र रेगबहादुर सुवेदी क्रमशः मन्त्री र सहायक मन्त्री बने । घर्तीमगर लामो समय मन्त्री बन्ने पहिलो भाग्यमानी रोल्पाली हुन । बहुदल पछि काँगे्रसका सुरेन्द्र हमाल र भिमकुमारी बुढा क्रमशः राज्यमन्त्री र सहायकमन्त्री बने पनि क्याविनेटसम्म रोल्पालीको पहुँच पुगेन । २०६२÷०६३ को परिवर्तन पछि भने रोल्पाले साँच्चिकै अवसर पायो, पाईरह्यो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको १५ वर्षमा रोल्पाले उपराष्ट्रपति देखी २ जना सभाामुख र झण्डै दर्जन मन्त्री पायो । संघीय लोकतान्त्रिक गणतन्त्रका दोश्रो उपराष्ट्रपतिमा रोल्पाका नन्दबहादुर पुनले अवसर पाए । हाल उनी तेश्रो उपराष्ट्रपतिको रुपमा बहाल छन् । नेपालको संसदीय ईतिहासमा पहिलो महिला सभामुख रोल्पाले पायो । ओनसरी घर्तीमगरले नेपालको पहिलो महिला सभामुख बन्ने अवसर पाईन । त्यस अघि उनी उपसभामुख थिईन । एउटै जिल्लाबाट २ जना सभामुख हुने अवसर पनि रोल्पाले पायो । कृष्णबहादुर महरा सभामुख भएपछि यो नयाँ रेकर्ड बनेको हो ।

२०६३ साल देखी सत्तारोहणमा रोल्पाले संस्थागत अवसर प्राप्त ग¥यो । २०६३ सालमा काँग्रेस सभापति गिरीजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा रोल्पाका कृष्णबहादुर महरा सूचना तथा संचार मन्त्री बने । काँग्रेस एमाले माओवादी गठबन्धनको यो सरकार २०६५ सम्म २ वर्ष १ महिना टिकेको थियो ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचन पछि देशको सबभन्दा ठूलो दल भएको माओवादीको नेतृत्वमा २०६५ सालमा सरकार गठन भयो । माओवादी अध्यक्ष पुष्पकमल दाहालको मन्त्रीमण्डलमा रोल्पाका कृष्णबहादुर महरा सूचना तथा संचार मन्त्रीमा दोहोरिए । माओवादी, मद्येशवादी संलग्न सरकार २०६६ सम्म ९ महिना टिकेको थियो ।

२०६८ सालमा गठन भएको एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्व सरकारमा रोल्पाबाट कृष्णबहादुर महराले गृह मन्त्रालय सम्हालेका थिए । सो सरकारमा रोल्पाकै जयपुरी घर्तीमगर महिला तथा बालबालिका मन्त्री बनेकी थिईन । एमाले माओवादी मद्येशवादी संलग्न सो सरकार ६ महिना मात्रै टिकेको थियो । सोही सरकार हेरफेरबाट ओनसरी घर्तीमगर युवा तथा खेलकुद राज्यमन्त्री बनेकी थिईन ।

२०६८ सालमा माओवादी नेता बावुराम भट्टाई नेतृत्व सरकारमा रोल्पाका वर्षमान पुन अर्थमन्त्री बनेका थिए । पुन पश्चिम नेपालकै पहिलो अर्थमन्त्री बन्ने सौभाग्य पाएका थिए । २०६९ सम्म १८ महिना चलेको यो सरकारमा माओवादी मद्येशवादी, एमाले र काँग्रेसको संलग्नता थियो ।

२०७३ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बनेको सरकारमा रोल्पाका कृष्णबहादुर महरा उपप्रधान तथा अर्थमन्त्री बनेका थिए । महरा पश्चिम नेपाल र रोल्पाकै दोश्रा अर्थमन्त्री हुन । यो सरकारमा माओवादी, काँग्रेस र राप्रपाको सहभागिता थियो । यो सरकार २०७४ सम्म १० महिना मात्रै चलेको थियो ।

२०७४ सालमा काँग्रेस माओवादी र राप्रपा संलग्न सरकारको नेतृत्व शेरबहादुर देउवाले गरेका थिए । यो सरकारमा रोल्पाबाट कृष्णवहादुर महरा उपप्रधान तथा परराष्ट्र मन्त्रीको जिम्मेवारीमा थिए । यही सरकारमा रोल्पाका काँग्रेस नेता अमरसिंह पुन उर्जा जलश्रोत तथा सिचाई राज्यमन्त्रीको जिम्मेवारीमा थिए । यो सरकार ८ महिना मात्रै टिकेको थियो ।

२०७४ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा रोल्पाबाट वर्षमान पुन उर्जा, जलश्रोत तथा सिचाई मन्त्री बनेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकण पछि बनेको नेपाल कम्युनिष्ट पार्टीको सो सरकारमा पुन पार्टी विभाजन आउनु पूर्वसम्म मन्त्री बनेका थिए । २०७८ सम्म ३ वर्ष ५ महिना टिकेको सो सरकार सर्वोच्च अदालतको परामादेशले विस्थापित भएको थियो ।

राज्यमा उपस्थिति नभएको भन्दै विद्रोहको आगो ओकल्न नेतृत्वदायि भूमिकामा रहेका रोल्पाले राज्यको दुई अतिविशिष्ट पदमा नेतृत्व गर्ने अवसर मात्रै प्राप्त गरेन । अर्थमन्त्रालयको समेत २ पटक नेतृत्व ग¥यो । छोटो समयमा यतिधेरै अवसर प्राप्त गर्ने काठमाण्डौ, मोरङ बाहेक रोल्पा नै पहिलो जिल्ला होला ।

कार्यपालिका मात्र हैन व्यवस्थापिकामा पनि रोल्पाको प्रतिनिधित्व कम छैन । १ पटक उपसभामुख र २ पटक सभामुख भएर व्यवस्थापिका संसदको नेतृत्व गर्ने अवसर पाएको रोल्पाले ठूलो संख्यामा सांसद सदस्यहरु पठाउने सौभाग्य पायो । लोकतन्त्र स्थापना हुनु अघि पञ्चायतको ३० वर्ष बालाराम घर्तीमगर, रेगबहादुर सुवेदी र बमकुमारी बुढामगले माननीय हुने अवसर प्राप्त गरेका थिए । बहुदलीय व्यवस्थापको पुर्नस्थापना पछि तत्कालिन संयुक्त जनमोर्चाबाट कृष्णवहादुर महरा र वरमन बुढाले तथा नेपाली काँग्रेसबाट सुरेन्द्र हमाल र लेखनाथ आचार्यले यो अवसर प्राप्त गरेका थिए ।

माओवादी सरकार वीच भएको विस्तृत शान्ति सम्झौता पछि २०६३ सालमा गठित अन्तरिम व्यवस्थापिकामा रोल्पाबाट कृष्णबहादुर महरा, जयपुरी घर्ती, सन्तोष बुढामगरले यो अवसर प्राप्त गरेका थिए । उनीहरु तत्कालिन माओवादीले व्यवस्थापिका संसदमा मनोनित गरेका ७३ सांसद मध्ये हुन । सोही संसदमा नेकपा एमालेकी रिमा नेपाली मनोनित भएकी थिईन ।

२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनबाट रोल्पाबाट जयपुरी घर्ती र सन्तोष बुुढा प्रत्यक्ष तर्फ निर्वाचित भए । कृष्णबहादुर महरा दाङ, वर्षमान पुन ललितपुर र झक्कुप्रसाद सुवेदी काठमाण्डौबाट निर्वाचित भएका थिए । सो निर्वाचनमा ओनसरी घर्ती, खुमा सुवेदी, तारा घर्ती, जोखबहादुर महरा र सन्तोषी विक समानुपातिक सांसदको रुपमा निर्वाचित भएका थिए ।

२०७० सालमा भएको निर्वाचनमा रोल्पाबाट कृष्णबहादुर महरा र ओनसरी घर्ती निर्वाचित भएका थिए । पहिलो दलबाट तेश्रो दलबाट खुम्चिएको माओवादीमा यस निर्वाचन पछि कुनै पनि रोल्पालीले समानुपातिक सांसद बन्ने अवसर पाउन सकेनन । पहिलो दल बनेको नेपाली कांग्रेसले रोल्पाका अमरसिंह पुन र दोश्रो ठूलो दल नेकपा एमालले गोकुल घर्तीलाई समानुपातिक सांसदको रुपमा सिफारिस गरेको थियो ।

संविधान सभाबाट २०७२ सालमा जारी संविधान बमोजिम भएको निर्वाचनमा एक निर्वाचन क्षेत्रमा खुम्चिएको रोल्पाबाट वर्र्षमान पुन निर्वाचित भएका थिए भने दाङबाट कृष्णवहादुर महरा निर्वाचित भएका थिए । यो निर्वाचनबाट रोल्पाका जयपुरी घर्ती र ओनसरी घर्ती समानुपातिक सांसदको रुपमा सिफारिस भएका थिए । यो संसद अद्यावधिक छ ।

राज्य सत्तामा पटक पटक अवसर पाएको रोल्पामा समय क्रममा हुने बाहेक युगान्तकारी विकास भने हुन सकेन । समयक्रम अनुसार हुने विकास बाहेक रोल्पाले अपेक्षा अनुसार क्रान्तिकारी फड्को पार्न सकेन । राज्यमा रोल्पाको अर्थपूर्ण उपस्थिति रहेपनि तुलनात्मक रुपमा विकासको गति अघि बढ्न सकेन । शिक्षा, स्वास्थ्यका साथै समग्र मानव विकास सूचकांकमा फेरवदल आउन सकेको छैन ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस