१६साउन,रोल्पा । स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई समेत कुनै जानकारी नदिई एकाएक रोल्पा पुगेका प्रदेश नम्वर २ का प्रदेश प्रमुख डा.राजेश अहिराज शुक्रवार विहान भेटघाटमा व्यस्त रहे ।

जिल्लाका पत्रकारहरुसँग भलाकुसारी गर्ने भनि आयोजना गरिएको कार्यक्रममा जिल्ला स्थीत सुरक्षा निकायका प्रमुख, रोल्पा नगरपालिकाका प्रमुखको पनि सहभागिता रहेको थियो । त्यहाँ उनले जिल्लाको पत्रकारिताको अवस्था तथा समग्र अवस्था बारे सहभागिहरुका धारणा सुनेका थिए ।

देशका ७७ वटै जिल्ला भ्रमणले भूमि र भावनाको जानकारी हुने प्रदेश प्रमुख अहिराजको भनाई थियो । भौगोलिक एकीकरण भएपनि नेपाली–नेपाली वीच भावनात्मक एकीकरण नभएकाले भन्दै आफ्नो भ्रमणले भावनात्मक एकताका लागि सहयोग गर्ने बताएका थिए ।

नागरिकको घरमा पुगेर उनीहरुको सुख दुख बुझ्ने भन्दै उनी रोल्पा नगरपालिका २ पिपलचौतारा स्थीत चिन्तामणी आचार्यको घरमा पुगेका थिए । जेष्ठ नागरिक चिन्तामणी आचार्य र उनकी श्रीमती सरस्वती आचार्यलाई दोसल्ला लगाएर प्रदेश प्रमुख अहिराजले सम्मान गरेका थिए । जेष्ठ नागरिकहरु ईतिहास र अनुभवको खानी भएकाले उहाँहरुको सम्मान आवश्यक रहेको प्रदेश प्रमुख अहिराजको भनाई थियो ।

एकाएक आफ्नो घरमा प्रदेश प्रमुख आएको देख्दा आचार्य दम्पत्ती खुसी भएका थिए । तपाई जस्तो राज्यको विशिष्ट पाहुनालाई मेरो झुपडीमा स्वागत गर्न पाउदा असाध्यै खुसी छु आचार्यले प्रदेश प्रमुखलाई अहिराजलाई भने । अहिराजले आफु पाहुना नभएको बताउदै एक नेपालीका लागि अर्को नेपाली पाहुना हुन सक्दैन । हामी सबै दुई दिनको पाहुना हाैँ अहिराजले भने ।

आचार्यले प्रदेश प्रमुख अहिराजसँग जीवनको भोगाई पाएका दुख र समाज सेवाको लामो वृत्तान्त सुनाएका थिए । उनले रोल्पा कसरी बन्यो भन्ने प्रशंग सुनाउँदा प्रदेश प्रमुख अहिराजले निकै चासोका साथ सुनेको देखिन्थ्यो । तत्कालिन राप्ती अञ्चलका ५ जिल्ला मध्ये रोल्पा कान्छो जिल्ला भएको आचार्यले सो अवसरमा सुनाएका थिए ।

प्यूठान र सल्यानका केही भुभाग कटाएर रोल्पाको नयाँ संरचना बनेको आचार्यको भनाई थियो । आचार्यले रोल्पा जिल्लाको निर्माण बारेमा ऐतिहासिक तथ्य वारे आफैले लेखेको ४ पृष्ठको लेख प्रदेश प्रमुख अहिराजलाई हस्तान्तरण गरेका थिए ।

प्रदेश प्रमुख अहिराजले आचार्यसंग जीवनका भोगाईका वारेमा विभिन्न जिज्ञासाहरु राखेका थिए । घरमा आएको वाहुनालाई भोकै पठाउनु हुँदैन भन्दै आफैले पालेको गाईको दुध तथा फलफुल खुवाएर आचार्यले प्रदेश प्रमुखको विदाई गरेका थिए ।