माधव नेपाललाई पर्खिएर अब एमाले अनिर्णयको बन्दि बन्दैन : खड्का

२०साउन, रोल्पा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका सचिव खेममान खड्काले अब माधव नेपाललाई पर्खिएर एमाले अनिर्णयको बन्दि नबन्ने बताएका छन् ।

आफ्नै पार्टीको सरकार ढालेर काँग्रेस, माओवादि गठबन्धनको सरकार बनाउन मुख्य भूमिका खेलि विरोधिहरुको गोठि बनेका नेपालले पार्टीमाथि अक्षम्य राजनीतिक अपराध गरेको भन्दै नेता खड्काले अब उनिहरुको समूहलाई पर्खेर एमालेको गतिविधि शून्य नबनाईने स्पष्ट पारे।

मंगलबार नेकपा एमाले रोल्पा जिल्लाको सचिवालय बैठकलाई सम्बोधन गर्दै नेता खड्काले पार्टीका सबै स्तरका कमिटीहरुलाई चलायमान बनाउदै गाउँ–गाउँमा संगठन सुदृढीकरणका अभियानलाई व्यापक बनाउन निर्देशन समेत दिएका छन् ।

त्यस्तै बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला ईन्चार्ज नवीन रोकामगरले गठबन्धनको सरकार बनेको महिना दिन नपुग्दै यो र त्यो बहानामा विवादहरु देखा परिसकेकाले गठबन्धन लामो समय टिक्न नसक्ने ठोकुवा गरे।

एमाले नेतृत्वको सरकारले धेरै लोकप्रिय र जनभावना अनुरुपका कार्यक्रमहरु ल्याएपछि अत्तालिएर गठबन्धन टिमले प्रपञ्च रचेर सरकार ढालेको भन्दै गठबन्धनको अभियान सफल पार्न माधव नेपाल प्रयोग हुनु र अझै नसच्चिएर दिनानुदिन यो र त्यो माग राखेर पार्टीलाई संक्रमणकालिन अबस्थामा राखिराख्नु दुखद भएको बताए ।

ईन्चार्ज रोकामगरले अब रोल्पामा पार्टी पंक्ति र सबै जनवर्गिय संगठनहरु एकै साथ परिचालित भएर विगतमा एमाले नेतृत्वको सरकारले गरका कामहरुको प्रचार गर्दै संगठनलाई जुझारु बनाउन निर्देशन दिए।

सदरमुकाम लिबाङ स्थित पार्टी कार्यालयमा पार्टीका जिल्ला संयोजक बालाराम बुढाको अध्यक्षतामा बसेको बैठकले पार्टी प्रदेश र केन्द्रका सर्कुलर अनुसार यहि साउन २२ गतेभित्र पार्टीका सबै पालिका स्तरका बैठकहरु सम्पन्न गरी साउन ३० गते भित्र सबै पार्टी सदस्यहरुको सदस्यता नविकरण गरिसक्ने निर्णय गरेको संयोजक बुढाले जानकारी दिए।

बैठकले कोभिडका कारण पार्टीका गतिविधिहरु केही सुस्तिएपनि अब रणनीतिक योजनाका साथ अघि बढ्ने तालिका समेत बनाएको संयोजक बुढाले बताए।

पार्टी जिल्ला सचिव निमप्रसाद रोकाको सञ्चालनमा सम्पन्न भएको बैठकमा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्यहरु कुमार दशौदि, शान्तकुमार ओली र ईश्वरी जिएमको समेत सहभागीता रहेको थियो।

बैठकमा पार्टीका सबै पालिका संगठन कमिटीका संयोजकहरुले पछिल्लो अवस्थाको बारे रिपोर्टिङ गरेका थिए।

प्रकाशित मिति : २०७८ साउन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस