असहाय महिलालाई घर हस्तान्तरण

२४ साउन, सुलिचौर । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ३, मिझिङकी श्रमिक समुदायका असहाय महिला ठगु सुनारलाई घर हस्तान्तरण गरिएको छ ।

देविस्थान युवा क्लव, सुनिलस्मृति–३, रोल्पाको अगुवाई तथा नरबहादुर स्मृति ग्रामीण सेवा संस्था, सुनिलस्मृति–४, रोल्पाको सहकार्यमा करिब ५ लाखको लागतमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

३ वटा कोठा, १ वटा शौचालय र १ वटा पानीधारा सहितको घर निर्माणको लागि क्लव र संस्थाले ४ लाख १८ हजार १ रुपैयाँ २७ पैसा नगद र २७ हजार ५ सय रुपैयाँ बराबरको जिन्सी सामान सहयोग संकलन गरेको थियो ।

संस्थाका संरक्षक भुपनारायण घर्तीमगरले अमेरिकाबाट ३ लाख ९ हजार ७ सय ६३ रुपैयाँ ७२ पैसा सहयोग संकलन गरी नगद पठाएका थिए । भने क्लबले १ लाख ८ हजार २ सय ३८ रुपैयाँ नगद र २७ हजार ५ सय रुपैयाँ बराबरको जिन्सी सहयोग संकलन गरी घर निर्माण गरीएको क्लब अध्यक्ष दिपेश विष्टले जानकारी दिएका छन्।

ब्लकले निर्माण गरेको घरमा ४ लाख ७२ हजार ३ सय रुपैयाँ खर्च भएको क्लबकी कोषाध्यक्ष ज्योति घर्तीमगरले सार्वजनिक गरेकी छन् ।

कार्यक्रममा सहभागी वक्ताहरुले सरकारले गर्ने काम एउटा संस्था र क्लवले गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिन अनुरोध गरेका थिए ।

एक दशक बढी अर्काकै घरमा आश्रय लिएर बसेकी ठगु सुनारलाई घर निर्माण गरी हस्तान्तरण गर्नु एउटा उदाहरणीय एवं अनुकरनीय कार्य भएको बताउँदै हरेक टोलबस्तीका संस्थाहरुले यस्ता खालका सामाजिक गतिविधि गर्न आवश्यक रहेको आशय व्यक्त गरेको थियो ।

अरुको घर भत्काएर रमाउने खालका प्रवृत्ति बोकेको समाजमा घर निर्माण गरेर हस्तान्तरण गर्नु आफैमा महानता भएको भन्दै वक्ताहरुले महान सेवाभन्दा ठूलो अरु केही हुननसक्ने बताए।संस्था र क्लवले घर निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

सुनिलस्मृति गाउँपालिका वडा नं. ३, मिझिङका वडाध्यक्ष दुर्गाबहादुर विष्टको प्रमुख आतिथ्यता भएको कार्यक्रममा सोही वडाका वडा सदस्यद्वय रीतादेवी थापा र लालबहादुर विष्टक्षेत्री, नरबहादुर स्मृति ग्रामीण सेवा संस्था, सुनिलस्मृति–४, सुलिचौर, रोल्पाका अध्यक्ष सुरज घर्तीमगर, श्री चन्द्रप्रभा मा.वि. मिझिङका अध्यक्ष ठगेन्द्रप्रसाद के.सी., नेपाल रेडक्रस सोसाइटी उपशाखा सुलिचौरका सभापति जीवराज घर्तीमगर, समाजसेवी तथा पूर्व मिझिङ गाविस उपाध्यक्ष विर्खबहादुर विष्ट तथा समाजसेवी केशबहादुर गिरी लगायतको आतिथ्यता रहेको थियो ।

क्लबका अध्यक्ष दीपेश विष्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लवका महासचिव प्रतिभा सुनारले गरेकी थिइन्।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस