बुटवलको कोरोना अस्पतालमा २ जनाको मृत्यु

२८साउन, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा २ जनाको मृत्यु भएको छ । उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं। २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको हो ।

उनको २५ गते नै पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । सोही दिनबाट उनलाई भेन्टिलेरमा राखेर उपचार भइरहेकोमा मंगलबार स्वास्थ्यमा थप समस्या आएर मृत्यु भएको कोराना विशेष अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले बताए ।

त्यस्तै, २५ वर्षीय युवा मंगलबार मात्र प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि आएका थिए । उपचारका लागि आएका उनलाई कोरोनाको लक्षण देखिनासाथ कोरोना विशेष अस्पताल ल्याएर भेन्टिलेटरमा राखिएको थियो  ।

उनको पनि स्वास्थ्यमा समस्या आएपछि मंगलबार राती नै मृत्यु भएको अस्पतालले जनाएको छ । उनको पीसीआर रिपोर्ट भने अझै आइसकेको छैन ।

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस