१भदौ, रोल्पा । अठार महिनामै बनिसक्नुपर्ने जलजला क्याम्पसको भवन पन्ध्र वर्षसम्म पनि निर्माण कार्य पुरा हुन सकेको छैन । ठेकेदारको लापरबाही र जिल्ला समन्वय समितिको बेवास्ताका कारण १५ वर्षसम्म पनि जलजला बहुमुखी क्याम्पस रोल्पाको भवन निर्माण कार्य पूरा हुन नसकेको हो ।
क्याम्पस प्रशासनले ताकेता गर्दा पनि ठेकेदारले विभिन्न बहाना बनाउँदै आएको छ । भवन निर्माण कार्य सम्पन्न नहुँदा मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको जलजला क्याम्पसमा पठनपाठन सञ्चालनमा समस्या छ ।
क्याम्पसको भवन निर्माणका लागि भारतीय दूतावासको आर्थिक सहयोगमा तत्कालीन जिल्ला विकास समिति रोल्पाले ठेक्का लगाएको थियो । १८ महिनामा सक्ने गरी दिवा निर्माण सेवा/ड्रागन बिल्डर्स प्रालि जेभी ललितपुरले २०६७ असार १५ गते ४ करोड ४४ लाख ९३ हजार ८० रुपैयाँमा ठेक्का लिएको थियो । भवन निर्माणका लागि पटकपटक म्याद थप गर्दा पनि निर्माण पूरा भएको छैन ।
तीन पटक म्याद थप गर्दा पनि १५ वर्षसम्म भवन निर्माण सम्पन्न नहुँदा कक्षा कोठा व्यवस्थापन गर्न समस्या भएको जलजला बहुमुखी क्याम्पसका प्रमुख खिमबहादुर खड्काले बताए । निर्माण कम्पनीले काम पुरा नगर्दा डेस्क बेञ्च तथा क्याम्पसलाई आफ्नो मौलिक शैलीमा रूपान्तरण गर्न नसकेको बताए क्याम्पस प्रमुख बताउँछन् । ‘हामीले भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न भन्दै निर्माण कम्पनी र जिल्ला समन्वय समितिमा पटकपटक आग्रह गर्दा पनि उहाँहरूले वेवास्ता गर्दै आउनु भएको छ ।’ क्याम्पस प्रमुख खड्काले भने ।
ठेकेदारले भवन निर्माण अलपत्र अवस्थामा छोडेको मात्रै छैन सम्झौता अनुसार २२ थान कम्प्युटर, प्रिन्टर, फ्याक्स मेसिन लगायतका सामान पनि खरिद गरेको छैन । निर्माण भएका संरचनासमेत जीर्ण भइसकेका छन् । भवनमा पानी चुहिनुका साथै झ्यालका सिसासमेत फुटेका छन् ।
क्याम्पस भवन एक महिनाभित्र हस्तान्तरण नगरे आन्दोलन गर्ने चेतावनी स्वतन्त्र विद्यार्थी युनियनले दिएको छ । ‘हामीले क्याम्पस प्रशासन, जिल्ला समन्वय समिति, निर्माण कम्पनी र रोल्पाका सबै नेताहरू भेटेर ध्यानाकर्षण गराइसकेका छौँ । सहज रुपमा भवन निर्माणको काम सम्पन्न गरी हस्तान्तरण नगरे अब आन्दोलन गछौँ ।’, स्ववियु सभापति सुमन विश्वकर्माले भने । कानूनी जटिलता भएको भए त्यसलाई फुकाएर भएपनि समस्या समाधान गर्नुपर्ने सभापति विश्वकर्माले बताए ।
‘निर्माण व्यवसायीले काम नगर्ने भए ठेक्का तोडेर जाऔं, निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने वा प्रमाणपत्र खारेज गरेर भए पनि समस्या समाधान गरौँ भन्दा क्याम्पस भवन निर्माणको ठेक्का लगाउने तत्कालीन जिल्ला विकास समिति र हालको जिल्ला समन्वय समितिले अटेरी गरी रहेको छ ।’, विश्वकर्माले भने, ‘एक महिनाभित्र क्याम्पस भवन हस्तान्तरण नभए आन्दोलन गर्छौँ ।’ आन्दोलनबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी ठेकेदार र जिल्ला समन्वय समितिले लिनुपर्ने उनले बताए ।
त्यसो त क्याम्पस प्रशासनले ठेकेकारलाई समयमै काम सम्पन्न गरी हस्तान्तरण गर्न गरेको बारम्बारको आग्रह अटेरी गरिरहेको छ । अझै ३० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ । क्याम्पस भवन निर्माणको ठेक्का लगाउने तत्कालीन जिल्ला विकास समिति र हालको जिल्ला समन्वय समिति रोल्पाले भवन निर्माणमा कुनै पनि तदारुकता देखाएको छैन । उल्टै काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुको साटो पटकपटक म्याद थप गर्दै आइरहेको छ ।
‘भवन निर्माण सुरु भएको १५ वर्ष भएता पनि काम सम्पन्न भएको छैन । हामीले निर्माण कम्पनीसँग समन्वय गरी म्याद थप गर्ने प्रक्रियामा रहेका छौँ ।’, जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियार भन्छन् । रोल्पा जस्तो ठाउँमा निर्माण कम्पनीलाई कारबाही गर्दा अरु कम्पनीहरु काम गर्न आउँदैनन् । बरु कारवाही गर्नुभन्दा पनि म्याद थप गरेर बाँकी काम सम्पन्न गर्ने तर्फ ध्यान दिनुपर्ने उपप्रमुख तर्क छ ।
ठेकेदार कम्पनीले ३ करोड ९९ लाख ७३ हजार भन्दा बढी रकम भुक्तानी पाइसकेको छ । भवन निर्माण जिम्मा पाएको मुख्य ठेकेदार कम्पनी ड्रागन÷विल्डर्स जेभी कम्पनीका प्रमुख उत्तम बस्नेतबाट पेटी ठेकेदारका रूपमा रुकुमका ताराप्रसाद घर्ती र रोल्पाका हरिबहादुर पुनले काम गरेका थिए ।
पेटीमा काम लिएका मध्ये रुकुमका घर्ती नेकपा (माओवादी केन्द्र) आबद्ध छन भने रोल्पाका पुन नेपाली कांग्रेस रोल्पामा आवद्ध छन् । उनी हाल गंगादेव गाउँपालिका अध्यक्ष समेत हुन् ।
जलजला बहुमुखी क्याम्पस रोल्पाकै पहिलो क्याम्पस हो । क्याम्पसले विगत ४ वर्षदेखि स्नातकोत्तर तहको पढाइ सञ्चालन समेत गरिरहेको छ ।


