२भदौ, रोल्पा । रोल्पाको एक चर्चमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–२ मुलपानीमा रहेको वेथेल मण्डली (चर्च)को माथिबाट आएको पहिरोमा पुरिएर एक वृद्ध महिलाको मृत्यु भएको छ, भने एक जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा रोल्पा नगरपालिका १० धाङसीकी ७० वर्षीय धनजिता बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक, सूचना अधिकारी केशवराज बराकोटीले जानकारी दिए। उनको अनुसार सोही घटनामा परेर सुनछहरी गाउँपालिका–३ मौलावन कि १८ वर्षीय नौभा घर्तीमगर घाइते भएको बताइएको छ । घाइते घर्तीमगरको जिल्ला अस्पताल रेउघामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
शनिवार रातिदेखि परेको अविरल वर्षाका कारण आईतवार बिहान ४ बजेको समयमा उक्त घटना घटेको प्रहरीले जनाएको छ । उक्त चर्चमा १० जना बस्ने गरेको र अन्य ८ जना सकुशल रहेको बताइएको छ ।