
४भदौ,रोल्पा । सरदर नेपालीको उचाई भन्दा होचा छन् । रोल्पा नगरपालिका वडा नं. १ धारपानीका जुमबहादुर महरा । उमेर ४६ वर्ष पारगरिसकेको महरा माओवादी सशस्त्र युद्धमा प्रत्यक्ष सहभागि भई लामो भूमिगत जीवन भोगेका पात्र हुन । माओवादी युद्धमा उनी करिव ६ वर्ष पूर्णकालिन कार्यकर्ताको रुपमा भूमिगत जीवन बिताएका थिए । माओवादीको शिक्षा विभागले सञ्चालन गरेको जनवादी विद्यालयका शिक्षक रहेका उनी जनयुद्ध कालिन समयमा तुफान नामले परिचित थिए ।
माओवादी जनयुद्धको प्रभावसँगै सुरक्षाकर्मीले सामान्य समर्थक तथा शुभचिन्तकलाई समेत गिरप्तार गर्ने कार्यलाई तिव्रता दिईरहेको थियो । गाउँकै एक आफन्तले प्रहरीको गिरप्तार लिस्टमा आफ्नो नाम पनि भएको सुनाई दिए पछि जुमबहादुर प्रहरीको सम्भावित यातनाबाट बच्नका लागि घरबाट निस्कने निश्कर्षमा पुगे, सोही अनुरुप २०५६ साल भदौ १ गते घरबाट निस्किए उनी । माओवादी कार्यकर्तासँग नियमित सम्पर्कमा भैरहने उनलाई भूमिगत पछि कसको सम्पर्कमा जाने भन्ने समस्या नै भएन । उनी माओवादीको सम्पर्कमा गएसँगै जनयुद्धमा पूर्णकालिन भएर लाग्ने निश्कर्षमा पुगे ।
होचो शारीरिक कद भएका कारण उनलाई हिडडुल गर्न निकै मुस्किल हुन्थ्यो । सुरक्षाका कारण दिनभरी सेल्टरमा बस्ने र रातीको समयमा हिड्नु पर्ने नियम थियो । उनले पनि त्यसै गर्नु पर्ने भयो । रातमा हिड्दा निकै मुस्किल भयो । लाईट बाल्न नपाईने भएका कारण हिड्दा उनी कयौं पटक लडेर चोटपटक पनि लाग्यो । पूर्णकालिन माओवादी कार्यकर्तासँग हिडेको देख्दा गाउँलेहरु उनलाई हेरेको हे¥यै हुन्थे । होचो कद भएकाले उनलाई माओवादी नेता कार्यकर्ता र गाउँलेहरुले माया गर्थे । उनीसँगै फोटो खिचाउनेको ताती लाग्थ्यो ।
अन्य माओवादी कार्यकर्तालाई भन्दा उनलाई बढीमात्रामा सुरक्षा चूनौती थियो । राम्रोसँग हिडडुल गर्न नसक्ने तथा स्पष्ट चिनिने शारिरीक संरचनाका कारण उनलाई थप सुरक्षित वातारणमा राख्ने चूनौती पार्टीलाई थियो । सोही अनुरुप उनलाई धेरै हिड डुल नगर्ने गरि व्यवस्थापन गर्न पार्टीले जनवादी विद्यालयमा पढाउने जिम्मेवारी दियो । माओवादीको अति प्रभावित गाउँहरुमा खोलिएका त्यस्ता जनवादी विद्यालयमा माओवादी कार्यकर्ता र युद्धमा मारिएका शहिदका सन्तानले पढ्ने गर्दथे । उनले १ वर्ष रोल्पाको तेबाङमा रहेको लिस्ने जनवादी विद्यालयमा पढाए । नेपाली सेना र माओवादी सेनाको सोही ठाउँमा भिडन्त भए पछि उनलाई रोल्पाको फगाममा संचालनमा रहेको अर्को विद्यालयमा स्थानान्तरण गरियो । उनले त्यहाँ करिब १ वर्ष पढाए । फगाममा रहेको सो विद्यालयमा साँझ २ घण्टा पढाई हुन्थ्यो ।
पार्टीको शिक्षा विभागले रोल्पा जैमाकसलामा संचालन गरेको नव चेतना जनवादी विद्यालयमा पढाउने गरि उनी २०५९ सालमा पुनः स्थानान्तरण गरिए । कक्षा ३ सम्म पढाई हुने सो जनवादी विद्यालयमा १ सय बढी विद्यार्थीहरु थिए । उनी त्यहाँ प्रधानाध्यापकको रुपमा काम गर्ने गरि खटिए । उनीसँगै अन्य स्टाप पनि थिए । विद्यालयको प्रशासनिक र व्यवस्थापकीय कामका साथै पठन–पाठन समेत उनको जिम्मेवादीमा प¥यो । माओवादीले संचालन गरेको विद्यालय भएका कारण सरकारी पक्षले जुनसुकै बेला पनि आक्रमण गर्न सक्ने खतरा थियो । त्यस्तो बेला साना बालबालिकालाई कसरी सुरक्षित गर्ने भन्ने उनलाई चूनौती थियो ।
प्रहरीको उपस्थिति नभए पनि गाउँमा कहिले काँही सेना जाने गर्दथ्यो । सेना अप्रेशनमा जाँदा पढाई नै रोकेर उनी लगायतका अन्य शिक्षकहरु सेल्टर तिर जान्थे । उनले सो जनवादी विद्यालयमा २०६५ साल सम्म पढाई । शान्ति प्रकृयाको करिव २ वर्षसम्म उनले सोही विद्यालयमा अध्यापन गरे । दिउँसो विद्यालयमा पढाउने र साँझ विहान पार्टीको सांगठनिक काममा उनको समय बित्ने गथ्र्यो । युद्धकालिन अवस्थामा बनेका सबै संरचनाहरु सरकारले व्यवस्थापन गर्ने भनिए पनि अहिले जनवादी विद्यालयहरु लथालिंग भएकोमा उनी चिन्तित छन् । आफुहरुले ज्यानको बाजी राखेर वैज्ञानिक शिक्षा दिने उद्धेश्यले त्यस्ता विद्यालय संचालन गरेको भए पनि अहिले अधिकांश विद्यालय लथालिंग भएकोमो उनलाई दुःख लागेको छ ।
नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर साम्यवादी समाज निर्माण गर्ने सपना सहित माओवादी आन्दोलनमा लागेका उनी जस्ता लाखौ युवाहरु विदेशी भूमिमा पसिना बगाई रहेका छन् । उनलाई भने विदेश जान शारिरीक अवस्थाले साथ नदिदा यतिबेला वडा कार्यालयको कर्मचारी भएका छन् । स्थानीय तहको निर्वाचन पछि गठित स्थानीय सरकारले उनलाई रोल्पा नगरपालिका वडा नं.४ को वडा कार्यालयमा कर्मचारी बनेर सेवा गर्ने अवसर दिएको छ । कार्यालय गएर जनताको काममा सहयोग गर्ने उनको दैनिकी बनेको छ ।
लामो भूमिगत राजनैतिक यात्रामा जनवादी विद्यालयको हेडमास्टर हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा वडा कार्यालयको कर्मचारीको अनुभव सँगाल्दै छन् उनी । हिजो परिवर्तनका लागी घर परिवार त्यागेर लागियो अब विकासका लागि योगदान गर्ने पालो आएकाले जनताको सेवामा लागेको छु महराले भने । दश वर्ष लामो जनयुद्धको उपलबधीले अहिले जनताको घर घरमा सिंहदरबार आएकाले यसको संस्थागत विकासका लागि लाग्नु पर्ने उनको भनाई छ ।