बाँदर आतंकले किसान हैरान

१० भदौ, जंकोट । रोल्पा नगरपालिका ८ जंङ्कोट गाउँमा बाँदरले बारीमा लगाएको बालीमा क्षति पुर्याएको छ । बाँदरको आतङ्कले वर्षेनी बारीमा लगाइएको मकै, भटमास, सिमी लगायतका बाली नोक्सानी गरिरहेको छ।

उक्त गाउँमा पछिल्लो समय बाँदरको आतङ्कले गर्दा बालीमा क्षति पुराएको स्थानीय बताउँछन् ।  जङ्कोतका दमाकुर टोलका स्थानीयबासीहरू बाँदरले मकै बाली नष्ट गर्दा चिन्तित देखिन्छन् ।

महिनौँ मेहनत गरेर लगाएको खेती बाली भित्राउने समयमा बाँदरले सखाप पार्न थालेपछी स्थानीय चिन्तित बनेका हुन् । 
मकै बाली भित्र्याउने समयमा बाँदरले मकै बालीमा क्षति पु¥याएको स्थानीय कुम बहादुर वलीले बताए । उनले भने, बस्ती नजिकै रहेका वनबाट आउने बाँदरका बथानले थुप्रै बालीमा क्षति पुर्याउने गरेको छ । यस क्षेत्रमा बाँदरले नखाने बाली भनेको कोदो, फापर, भाङ्गो जस्ता बाली नै प्रसस्त उत्पादन नहुँदा परम्परागत रुपमा गरिदै आएको मकै बाली लगाउन परेको उनले उनले बताए । 

मकैबाली बाँदरबाट बँचाउन स्थानीय दिनभर बाँदर धपाउन बारीमै बस्नुपरेको स्थानीयले बताएका छन् । बस्ती नजिकै वन रहेकाले बाँदर जुनसुकै समयमा पनि बारीमा आउने र मकै बालीमा क्षति पुर्याउने भएकाले यतिबेला त्यहाँका स्थानीय बाँदर धपाउँदै बस्नुपर्ने बाध्यतामा रहेका छन् ।

जङ्कोतको दमाकुर टोलमा करिब २० घरपरिवारको बसोवास रहि आएको छ । उक्त विष घरपरिवार यसको प्रत्यक्ष मारमा परेका छन् । 

वर्षेनी अन्नबाली बाँदरले नष्ट गर्दा गाउँबाट निकै टाढा बजारबाट चर्को मूल्यमा खाद्यान्न  खरिद गर्नुपर्ने बाध्यता रहेको अर्का कृषक रण बहादुर वलीले बताए । ६ महिनालाई खान पुग्ने मकै बाँदरले नष्ट गरिदिएपछि अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले पिरोलेको उनले दुखेसो व्यक्त गरे । बाँदर नियन्त्रणका लागि उपयुक्त प्रविधिको व्यवस्थापन गरिदिन सरकारसँग उनले माग गरे ।  

बाँदरले मकैसँगै यस क्षेत्रमा लगाएको बेमौसमी तरकारी पनि खाइदिने गरेको छ । स्थानीयका अनुसार अहिले उक्त क्षेत्रमा बाँदरको सङ्ख्यामा वृद्धि भएको छ । वन जङ्गलमा त्यसका लागि आहारा प्राप्त मात्रामा उपलब्ध हुन छाडेपछि विस्तारै बाँदरहरू मानिसले लगाएको बारीमा पस्न थालेको स्थानीय बताउँछन् । 

बाँदर नियन्त्रणका लागि तत्कालै केही गर्न सक्ने अवस्था नरहेको वडाध्यक्ष हर्क बहादुर डाँगीले बताए । उनले भने, बाँदर नियन्त्रणको विषयमा तत्कालै केही गर्न सक्ने अवस्था छैन्, बाँदरलाई बारीमा प्रवेश गर्न नदिने उपायहरू अपनाउन सकियो भने तत्कालको लागी राम्रो होला।

उनले यस विषयमा माथिल्लो निकायसँग छलफल गरेर नियन्त्रणका लागि पहल गर्ने बताए । वडाध्यक्ष डाँगीले किसानलाई सम्भव भएसम्म बाँदरले क्षति नपुर्याउने बाली लगाउन आग्रह गरे ।

प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस