होलेरीमा कृषि हाटबजार, दुई महिनामा ९ करोड ५० लाखको कारोबार 

१० भदौ, रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका होलेरीमा कृषि हाटबजार संचालन हुँदै आएको छ । हाटबजारमा पछिल्लो दुई महिनामा ९ करोड ५० लाखको कारोबार भएको छ । किसानले आफ्नो उत्पादन हाटबजारमा ल्याएर बिक्रीवितरण गरि नगद आम्दानी गरिरहेका छन् । 

रुन्टीगढी गाउँपालिकाले किसानले उत्पादन गरेको तरकारीको सहज बजारिकरणका लागि कृषि हाटबजार गतवर्षदेखि सञ्चालन गर्दै आएको हो । हाटबजारले किसानको उत्पादनले सहज बजार त पाएको छ नै किसानले सोझै व्यापारीलाई तरकारी बेच्ने भएपछि बिचौलिया प्रवृत्ति अन्त्य भएको छ । यसले किसानलाई उत्पादनको उचित प्रतिफल मिलेको छ ।

आफूले उत्पादन गरेको तरकारी हाटबजारबाटै सहजै बिक्री हुने भएपछि रुन्टीगढी गाउँपालिका–९ सखीका चन्द्रप्रकाश महरा यतिबेला तरकारी खेतीमै  व्यस्त छन् । होलेरी कृषि हाट बजारका अध्यक्षसमेत रहेका महराले ५ बिघा क्षेत्रफलमा तरकारी खेती गरेका छन् । उनले एक सिजनमा १२ देखि १५ लाखसम्म आम्दानी गर्दै आएको बताउँछन्  ।

वैदेशिक रोजगारीका क्रममा दुबईमा ११ वर्ष बिताएपछि गाउँ फर्किएका महरा ७ वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका छन् ।  महरालाई अचेल हाटबजारमा तरकारी लगेर बेच्न भ्याइनभ्याइ छ । तरकारी खेतीको आम्दानीले घर खर्च चलाउनुका साथै ४ जनालाई रोजगारी समेत दिएको महराले सुनाए। ’विदेश गएर रगत र पसिना बगाउनुभन्दा आफ्नो बारीमा तरकारी खेती गरे राम्रो आम्दानी गर्न सकिन्छ ।’, महरा भन्छन् ।

त्यस्तै सोही ठाउँका नरसिंह रोकाले पनि ५२ रोपनी क्षेत्रफलमा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । नरसिंहले पनि सिजनमा तरकारीबाट ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन् । 

चन्द्रप्रकाश र नरसिंह व्यवसायिक तरकारी खेती गर्ने र हाटबजारमा बेच्ने प्रतिनिधि पात्र मात्र हुन्। यो भेगका प्रायः किसान व्यवसायिक खेतीमा लागेका छन् । रुन्टीगढीका १३ बढी किसानले त पछिल्लो समय बारीमा मकै लगाउन छोडेर तरकारीखेती मात्रै गर्दै आएका छन् । अन्नबाली लगाउन छाडेर व्यावसायिक तरकारीखेती गर्न थालेका किसानले तरकारी खेतीबाट मनग्य आम्दानी पनि गर्दै आएका छन् । यहाँका किसानले कम्तिमा पनि  ३ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

गाउँपालिकाले हाटबजार संचालन गरिदिएपछि तरकारी बिक्री नहुँदा कुहाएर फाल्नुपर्ने बाध्यता हटेको यहाँका किसानहरू बताउँछन् । 

होलेरीमा लाग्ने हाटबजारमा एक दिनमा ६० लाखसम्मको कारोबार हुँदै आएको छ । हप्तामा दुई दिन बुधबार र शनिबार हाट लाग्छ । हाटबजार संचालन भएपछि किसानले उत्पादन गरेका तरकारी खरिद गर्न दाङ, बुटवल, नेपालगञ्जसम्मका व्यापारी आउने गरेका छन् ।

तरकारी खरिदबिक्रीमा बिचौलिया हावी हुन नदिन हाटबजार सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष जनक पुनले बताए । ’हाटबजार सञ्चालनमा आएपछि तरकारी खरिदबिक्रीमा बिचौलिया हाबी हुन पाएका छैनन् ।’, गाउँपालिका अध्यक्ष पुन भन्छन्, ’जसले गर्दा किसानले आफ्नो लगानीको उचित मूल्य पाएका छन् ।’ किसानलाई अनुदानसमेत दिने गरेको अध्यक्ष पुनले जानकारी दिए । 

हालेरी हाटबजारबाट साउनदेखी यताको अवधिमा मात्र ९ करोड ५० लाखको तरकारी र फलफूल निर्यात भएको हाटबजार व्यवस्थापन समितिले जनाएको छ हाटबजारबाट सबै भन्दा बढी टमाटर निर्यात भएको छ । 

होलेरी हाटबजार तथा कृषि उपज केन्द्रका अनुसार गत जेठ ३० बाट हाटबजार सुरु भएको थियो । हाटबजार सुरु भएदेखि १ सय टन बढी टमाटर निर्याट भएको छ । काउली, बन्दा गोपि, सिमी,  खुर्सानी र अन्य फलफुल पनि निर्यात हुने गरेको छ । 

पुर्वी रुकुम र पश्चिम उत्तर रोल्पाको प्रवेशद्वार मानिने दक्षिणी होलेरीमा हाटबजारले रौनकता मात्र ल्याएको छैन, गाउँठाउँमै उत्पादन बिक्रीवितरण गर्ने अवसर किसानलाई मिलेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस