११भदौ,कावुल । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बिहीबार साँझ भएको आत्मघाती बम हमलामा दर्जनौं मानिस मारिएका छन्।

अमेरिकी नेतृत्वको सुरक्षा फौजले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको उद्धार गरिरहेका बेला दुईवटा शक्तिशाली आत्मघाती हमला भएको टोलोन्यूजले जनाएको छ।

पेन्टागनका प्रवक्ता जोन किर्बीले विस्फोटमा परी हताहती हुनेहरूको सङ्ख्या ठूलो रहेको दाबी गरेका छन्। तर हताहत हुनेहरूमा आफ्ना सैनिक पनि परेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

आत्मघाती बम हमलामा १३ अमेरिकी सैनिकसहित ७३ अफागनी नागरिकले ज्यान गुमाएका छन् भने सयौँ जना गम्भीर घाइते भएको समाचार एजेन्सी एपीले पुष्टि गरेको छ। घाइतेहरूको काबुलस्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

आत्मघाती बम आक्रमणकारीहरूले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका छन्।

अमेरिकी सेनाले छिट्टै विमानस्थल छोड्ने अफबाह फैलिएपछि यसअघि कर्बीले एक ट्वीटमार्फत् सम्प्रेषित सन्देशमा ‘काबुलमा उद्धार कार्य ३६ घण्टामा पूरा नहुने र मिशनको अन्त्य नभएसम्म हामी सकेसम्म धेरै मानिसहरूलाई उद्धार गरिरहनेछौं’ भनेका थिए।