कोरोना परीक्षणको शुल्क घट्यो

१४भदौ, काठमाडौं । निजी अस्पतालहरुले कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षणको शुल्क मनलागी लिएको भन्दै विरोध भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क र लिन पाउने सीमा तोकेको छ ।

मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने निर्णय गरेको हो।

आइतबार मन्त्रालयमा मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार अब कुनै पनि संस्थाले सेवा शुल्कसहित ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने छन् । निर्णय भएको भन्दै बढी एक रुपैयाँ पनि लिन नपाइने उनले बताए ।

यसअघि मन्त्रालयले अनुमति प्राप्त गरेका प्रयोगशालाहरुले पीसीआर गर्दा अधिकतम ५ हजार ५ सय रुपैयाँ लिन पाउने र अनुमति नपाएका अस्पतालहरुले स्वाब संकलन गर्दा १० प्रतिशत थप सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियो । तर अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी रकम लिने गरेको पाइएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस