रोल्पामा यसरी गरियो बेपत्ता नागरिकको सम्झना ( फोटो फिचर)

१४भदौँ, रोल्पा । आइतबार विश्वभर १० औं अन्तर्राष्ट्रिय वेपत्ता दिवस मनाइएकाे छ ।  विभिन्न द्वन्द्वका कारण बलपूर्वक वेपत्ता बनाइएका व्यक्तिहरुको स्मरणमा नेपालमा पनि यो दिवस मनाइयो । नेपालमा विगत १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका बेला राज्य र तत्कालीन विद्रोहीबाट वेपत्ता बनाइएकाको खोजी गर्न सरकारलाई दबाब दिदै पीडितहरुले आफन्तको स्मरण समेत गरे ।

पीडित र सामाजिक न्याय सहजकर्ताको आयोजनामा रोल्पामा पनि सशस्त्र द्वन्द्वका बेला वेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा दीप प्रज्ज्वलन गरियो । द्वन्द्वका पीडित राष्ट्रिय महिला सञ्जाल लगायतको आयोजनामा लिबाङमा वेपत्ता व्यक्तिको स्मरण गरिएको हो । पीडित परिवारका लागि न्याय माग्ने सवालमा ऐक्यबद्धता जनाउँदै सचेत नागरिकहरुले लिबाङस्थित सहिद स्मारक पार्क छेउ वेपत्ताको स्मरणमा दीप प्रज्ज्वलन गरेका हुन् । त्यसअघि नागरिक सरोकार सदस्यहरुको उपस्थितिमा बैठक समेत आयोजना गरिएको थियो ।

युद्ध अवधिमा रोल्पामा वेपत्ता भएका व्यक्तिहरुमध्ये ६७ जना अझै फेला नपरेको विभिन्न संस्थाहरुले जनाएका छन् । रोल्पामा स्थानीय प्रशासन, तत्कालीन स्थानीय शान्ति समिति, नेपाल रेडक्रस र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) लगायतले वेपत्ता पारिएका व्यक्तिको बारेमा कार्यक्रम संचालन र तथ्यांक संकलन गर्दै अँएका छन् । मुलुकभर वेपत्ता हुनेको संख्या १ हजार ३ सय ४७ छ । युद्धको अवधिमा राज्य र तत्कालीन माओवादी विद्रोहीबाट मानिसहरु वेपत्ता बनाइएको थियो । २०५२ देखि २०६३ सम्मको अवधिमा वेपत्ता भएका मानिसहरुका परिवारप्रति नागरिक समुदाय, दल र सरकारले चासो नदेखाएको पीडितको गुनासो छ ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस