१७ भदौ, रोल्पा। रोल्पाको लिबाङ स्थित जलजला बहुमुखी क्याम्पसका विद्यार्थीहरुले क्याम्पस भवन हस्तान्तरणको माग गर्दै पूर्वमन्त्री वर्षमान पुन लाई ज्ञापन पत्र बुझाएका छन्।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का सभापति सुमन विश्वकर्माको नेतृत्वको टोलीले पूर्वमन्त्री पुनलाई ज्ञापन पत्र बुझाएको हो। उक्त ज्ञापनपत्रमा विद्यार्थीहरुले १५ वर्षसम्म पनि भवन निर्माण नहुँदा क्याम्पस सञ्चालनमा समस्या भएको उल्लेख गर्दै, निर्माण व्यवसायीसँग समन्वय गरेर भवन तत्काल हस्तान्तरण गराउन पहल गरिदिन आग्रह गरेका छन्।
जलजला क्याम्पस भवनको निर्माण कार्य २०६७ साल असार १५ गते सुरु गरिएको थियो। दिवा निर्माण सेवा–ड्रागन बिल्डर्स प्रालि जेभी, ललितपुर ले १८ महिनामा सम्पन्न गर्ने सर्तमा कुल ४ करोड ४४ लाख ९३ हजार ८० रुपैयाँको ठेक्का लिएको थियो। तर, पटक–पटक म्याद थप गरिँदा पनि अहिलेसम्म भवनको निर्माण कार्य पूरा भएको छैन।
ज्ञापनपत्र बुझ्दै पूर्वमन्त्री पुनले भवन हस्तान्तरण नभएको कुरा एक महिना अघि समाचार आएपछि मात्र थाहा पाएको बताएका थिए। उनले भवन हस्तान्तरण प्रक्रियामा पहल गर्ने आश्वासन पनि दिएका छन्।


