रोल्पामा भयावह बन्दै आत्महत्या

पाँच वर्षयता ३ सय ६१ ले गरे आत्महत्या
बितेको पाँच वर्षयता रोल्पामा आत्महत्या गरेकाहरु

१८ भदौ, रोल्पा ।
घटना–१ रोल्पाको सुनिलस्मृति गाउँपालिका–७ तेबाङकी ५५ वर्षीया हिकमता रोकाले २०८१ साउन ४ गते दिउँसो करिब ३ बजे झुन्डिएर आत्महत्या गरिन् । आफ्नै बारीमा रहेको सुवापातिको रुखमा प्लाष्टिकको नाम्लो पासो लगाई आत्महत्या गरेकी थिइन् । ५५ वर्षको उमेरमा उनले किन आत्महत्या गरिन्, कारण अझै खुल्न सकेको छैन । घटना अनुसन्धानकै क्रममा छ ।

घटना– २
रोल्पाकै त्रिवेणी गाउँपालिका–२, ह्याङ काहाल टोलकी १५ वर्षीया देविका विकले पनि आत्महत्या गरिन् । २०८१ साउन २३ गते बेलुका करिब ५ बजे आफ्नै घरको कोठाको दलिनमा सलको पासो लगाई आत्महत्या गरिन् । कलिलै उमेरमा के कति कारणले आत्महत्या गरिन्, अझै पत्ता लाग्न सकेको छैन ।

घटना– ३
सुनिलस्मृति गाउँपालिका–५ घरभई रोल्पा नगरपालिका–३ खुमेल बस्दै आएका ३२ वर्षीय दीपक घर्तीमगरले पनि २०८१ साउन २४ गते बिहान करिब ५ ः३० बजे झुन्डिएर आत्महत्या गरे । घरको कोठामा ज्याकेटको पासो लगाई आत्महत्या गरेको बताईएको छ । दिपकले आत्महत्या गरेको कारण अझै पत्ता लागेको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

घटना– ४
२०८१ भदौ ३ गते बेलुका करिब ५ ः३० बजे घरमै विष सेवन गरी रोल्पा सुनछहरी–३ पाङबाङकी ४४ वर्षीया हस्तमा बुढाले पनि आत्महत्या गरिन्। हस्तमाको आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान भइरहेकै जनाएको छ ।

घटना– ५
५२ वर्षीया धनसिं घर्तीमगरले २०८१ भदौ ७ गते राती करिब १० बजे घर नजिकै पाखो बारी रहेको भिमलको रुखमा प्लाष्टिकको डोरी पासो लगाई आत्महत्या गरे । रुन्टीगढी गाउँपालिका– ९ गातिनाका धनसिंहले आत्महत्या गरेको कारण पनि अज्ञात नै छ । अनुसन्धान भने जारी छ ।

आत्महत्या गरेका रोल्पाली मध्ये यी प्रतिनिधिमूलक पात्र मात्रै हुन्, त्यो पनि चालु आर्थिक वर्षको साउनदेखि भदौ १२ गतेसम्मको । करिव डेढ महिनाको अवधिमा ३ महिला र २ पुरुष गरी ५ जनाले आत्महत्या गरेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय रोल्पासँग छ ।

बितेको पाँच आर्थिक वर्षको तथ्याङ्कलाई मात्र फर्केर हेर्ने हो भने रोल्पामा आत्महत्या गर्नेको संख्याा भयावह छ । तथ्याङ्कले जोकसैलाई झस्काउँछ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक केशवराज बराकोटीका अनुसार पाँच वर्षयता ३ सय ६१ जनाले आत्महत्या गरी ज्यान गुमाइसकेका छन् । आत्महत्या गर्नेमा बालबालिकादेखि ज्येष्ठ नागरिक छन् । आत्महत्या गर्नेको अभिलेख हेर्दा महिला भन्दा पुरुष बढी छन् । २ सय पुरुष र १ सय ६१ महिलाले आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाको अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४२ पुरुष र ३० महिला गरी ७२ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७७/७८ मा ४३ पुरुष र ३८ महिला गरी ८१ जनाले आत्महत्या गरे । आर्थिक वर्ष २०७८/७९ मा ३९ पुरुष र ३४ महिला गरी ७३ जनाले आत्महत्या गरे । त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा ३७ पुरुष र ३० महिला गरी ६७ जनाले आत्महत्या गरे । आर्थिक वर्ष २०८०/०८१ मा ३७ पुरुष र २६ महिला गरी ६३ जनाले आत्महत्या गरे । यि सबै प्रहरीको सूचनामा आएका घटना हुन् । कपितय आत्महत्याका घटना त प्रहरीको जानकारीमा समेत आउँदैनन् । ति घटना आउने हो भने यो संख्या अझ बढी हुन सक्छ ।

उमेर समूह अनुसार आत्महत्या गर्ने

पछिल्लो आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को तथ्याङ्कलाई केलाउँदा १६ वर्षमुनिका २१ जनाले आत्महत्या गरेका छन् । १६ देखि २५ उमेर समूहका २६ जना, २६ देखि ३५ वर्षका ३२ जना, ३६ देखि ४५ वर्षका १९ जना, ४६ देखि ६० उमेर समूहका २० र ६० वर्षमाथिका १२ जनाले आत्महत्या गरेको देखिन्छ ।

२६ देखि ३५ उमेर समूहकाले सबै भन्दा बढी आत्महत्या गरेका छन् भने ६० वर्षमाथिले कम आत्महत्या गरेका छन् । सबैलाई चिन्तित टुल्याउने तथ्याङ्क हेर्दै गर्दा १६ वर्षमुनिका र ६० वर्षमाथिकाले पनि आत्महत्या गरेका छन् ।

कुन महिनामा कतिले गरे आत्महत्या

पछिल्लो दुई वर्षको तथ्याङ्क अनुसार कार्तिक महिनामा सबै भन्दा बढी १७ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा कम पुसमा ६ जनाले आत्महत्या गरेका छन् । आ.व. २०७९/०८० र २०८०/०८१ मा १ सय ३० जनाले आत्महत्या गरेकोमा बैशाख र असार महिनामा १५/१५ जनाले आत्महत्या गरे ।

साउनमा १३, असोजमा १२, भदौमा १०, फागुन र चैतमा ९÷९ र मंसिर, माघ र जेठ महिनामा ८/८ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाउछ । यसले पुसमा कम र कार्तिक महिनामा सबैभन्दा बढी किन ? भन्ने प्रश्न उब्जाएको छ । वस्तुगत कारण खोटल्न अध्ययनको आवश्यकता छ ।

आत्महत्याको कारण के ?

दिनानुदिन बढ्दो आत्महत्या के कारणले भइरहेको छ त ? यो प्रश्नले सबैलाई चिन्तित बनाएको छ । आत्महत्या गर्ने व्यक्तिको पोष्टमार्टम गर्दापनि उचित कारण फेला परेको छैन । आत्महत्या घटनाका कारण तर्फ प्रहरी अनुसन्धानपनि प्रभावकारी देखिदैन ।

आत्महत्या घटना संकाष्पद नदेखिएम, कारणतर्फ प्रहरीले गहिरो अनुसन्धान गरेको देखिदैन । घटना मुचुल्काका क्रममा आत्महत्या गरेका व्यक्तिका पारिवारिक स्रोतले दावी गरे अनुसारको कारण बाहेक प्रहरीले अन्य कारण फेला पारेको देखिदैन । ‘आत्महत्या गर्नुको यकिन कारण थाहा नभएपनि अधिकांश पारिवारिक कलहपछि आवेशमा आएर आत्महत्या गरेको देखिन्छ ।’

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक भरत लामा भन्छन्, ‘गरिबी, अशिक्षा, सामाजिक चेतनाको अभाव र मानसिक तवानले पनि आत्महत्या भइरहेको हुन्छ ।’कतिपय बालबालिकाले पढाईमा राम्रो नतिजा प्राप्त नगर्दा अभिभावकले गाली गर्दापनि आत्महत्या गर्ने गरेको घटना पनि आउँछन् ।

बालबालिकाले आफुले सोचेको गर्न नपाउँदा पनि आत्महत्या गर्ने गरेका छन् । ज्येष्ठ नागरिकहरुलाई सन्ताले वेवास्ता गर्दा दिक्दारी हुनुका साथै दीर्घ रोगीका कारण पनि आत्महत्या हुने गरेको छ । लागुपदार्थ, प्रेम वियोग, परिवारको सदस्य घरभन्दा टाढा (विदेश) हुनुले ल्याउने दिक्दारी र असफलताका कारणले आत्महत्या बढ्दै गएको रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगी बताउँछन् ।

आत्महत्याको घटना अध्ययन (केस स्टडी) नगरी के कति कारणले आत्महत्या भएको भन्न नसकिने मानसिक रोग विशेषज्ञ बताउँछन् । आत्महत्या गुर्नको मुख्य कारण मानसिक स्वास्थ्य रहेको रोल्पा अस्पतालका डा. निरज घर्तीमगर बताउछन् । ‘हाम्रो समाजमा भएको सामाजिक, सांस्कृतिक, व्यक्तित्व र आर्थिक कारणले मानिसको मानसिक स्वास्थ्यमा असर पारेको हुन्छ । जसका कारण आत्महत्या गर्नेहरु बढीरहेका छन् ।’ डा. घर्तीमगरले भने, ‘पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको दुरुपयोगले पनि आत्महत्या गर्ने बढीरहेका छन् ।’ मानिसलाई जुन–जुन कुराले असर गरेर आत्महत्या गर्न बाध्य हुन्छ, त्यसको निदान सहित उपचार गर्न सके आत्महत्या निरुत्साहित गर्न सकिने मानसिक रोग विशेषज्ञ बताउँछन् ।

तत्कालीन सशस्त्र युद्धको समयमा रोल्पामा आत्महत्याको घटना विरलै हुने गरेपनि पछिल्लो समय आत्महत्या बढ्नुलाई कतिपयले विगतको सशस्त्र द्वन्द्वको प्रभावलाई पनि लिन्छन् ।रोल्पामा बढ्दो आत्महत्यालाई कम गर्न आत्महत्याका केस स्टडी गर्न आवश्य रहेको नेपाल पत्रकार महासंघ रोल्पका पूर्वअध्यक्ष खेम बुढामगर बताउँछन् ।

आत्महत्या हुने कारणको वास्तविकता निदान गरी आममानिसमा सचेतना र मनोपरामर्शका कार्यक्रम जनस्तरमा पु¥याउन आवश्यक रहेको बुढामगरको सुझाव छ ।

आत्महत्यालाई निरुत्साहित बनाउन जिल्लाका स्वास्थ्य संस्था, स्थानीय तह र सरोकारवालाले गम्भिर रुपमा अध्ययन र अनुसन्धान गरी निदानका योजना बनाउन आवश्यक छ ।

प्रकाशित मिति : २०८१ भाद्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस