२३भदौ,रोल्पा । केहि समय यता जिल्लाको एक स्वास्थ्य संस्थामा औषधिको चरम अभाव देखिएको छ। रोल्पा नगरपालिका १ हरिगाटिनामा रहेको शहरी स्वास्थ्य केन्द्रमा यतिबेला अत्यावश्यक औषधि समेत छैन। संस्थामा पहिला आएको औषधिको म्याद सकिएको छ भने नयाँ औषधि भने आएको छैन।
‘साउन यता नगरपालिकाले औषधि पठाएको छैन। हामीसंग कार्यालय सहयोगी नभएकाले औषधि ल्याउन समस्या भएको हो।’ त्यहाँ कार्यरत अनमि मिना घर्तीले भनिन् ‘नगरले ढुवानी खर्च छैन भनेको छ। बोकेर ल्याउने मान्छे छैनन्।’ उनका अनुसार नगरपालिकाले औषधि ढुवानी नगरिदिएका कारण पनि समस्या भएको हो।
यतिबेला कवज मलम, सुत्केरी गराउदा ब्यथा लगाउने अक्सीटोक्सीन ईन्जेक्सन, बच्चालाई सिटामोल, एन्टबियोटिकहरु सकिएको छ भने वर्षातको समयमा अत्यावश्यक हुने पखालाको औषधि मेट्रोनिडाजोल समेत छैन। अन्य स्वास्थ्य संस्था भन्दा टाढा रहेको यो गाउँमा गतिलो स्वास्थ्य सेवा दिने भन्दै जनप्रतिनिधि आएसंगै शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको थियो।
शहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले नगरमा औषधि माग गरेको बताए पनि रोल्पा नगरपालिकाका स्वास्थ्य संयोजक टंक गिरिले आफूलाई यो विषयमा जानकारी नआएको बताए। उनले भने ‘औषधि लिन उहाँहरु आफै आउनु पर्छ। हामीसंग औषधि ढुवानी र भ्याक्सीन ढुवानीको एकमुष्ट पैसा हुन्छ तर त्यसले वर्ष दिन भरि पुग्दैन।’
एक जना अहेब र एकजना अनमि कार्यरत यहाँ रहेका अहेब नारायण खड्का आइसोलेसन केन्द्रमा खटिएका कारण अनमि मिना घर्ती मात्र कार्यरत छिन्। यो समयमा हरेक वर्ष शहरी स्वास्थ्य केन्द्र हरिगाटिनामा मात्र नभएर जिल्लाका धेरै स्वास्थ्य संस्थामा औषधिको अभाव हुने गर्दछ। सरोकारवालाले समयमा चासो नदिएका कारण अत्यावश्क औषधिको अभाव हुने गर्दछ। दिनेश सुवेदीले नागरिक दैनिकमा लेखेका छन् ।