प्रेस युनियन लुम्बिनीले १० बुँदे ‘‘स्वर्गद्वारी घोषणापत्र” जारी गर्दै भेला सम्पन्न

२४ भदौ, रोल्पा । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश भेला १० बुँदे ‘‘स्वर्गद्वारी घोषणापत्र” जारी गर्दै सम्पन्न भएको छ । प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षता एवम् केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको बन्दसत्रले १० बुँदे स्वर्गद्वारी घोषणापत्र जारी गरेको हो ।

महासचिव नवीन गिरीद्वारा जारी प्रेस विज्ञप्तीमा प्रदेश भेला १० बुँदे घोषणापत्र जारी गरेर सम्पन्न भएको उल्लेख छ । भेलाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न जोडदार माग गर्दै पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र, निष्पक्ष पत्रकारितालाई आत्मसाथ गरी समुन्नत समाज निर्माणका लागि पत्रकारिताको भूमिका बदलिँदै गरेको अवस्थामा समयानुकूल व्यवसायिक पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्ने ठहर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै लुुम्बिनी सञ्चार समन्वय परिषद त्रुटीरहित तथा समावेशी ढंगले पुनःगठन र रजिष्ट्रारको नियुक्त गरी मिडिया सम्बन्धि सबै काम सोही परिषद्मार्फत गर्ने व्यवस्था मिलाउन माग गर्दै प्रदेश सञ्चार ऐन अपूर्ण र त्रुटीपूर्ण भएकाले संशोधन गर्न भनिएको छ ।

पत्रकारहरुको पेशागत सुरक्षाका लागि ध्यानाकर्षण गराउँदै पत्रकार बीमा, पत्रकार स्वास्थ्य बीमा जस्ता कल्याणकारी कार्यक्रमहरु लागू गर्न प्रदेश सरकार सक्षम माग गरिएको छ ।

लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारले वितरण गर्ने विज्ञापनको रकम वृद्धि गरी सामानुपातिक वितरण प्रणाली अवलम्बन गर्न माग गरिएको महासचिव गिरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण र नयाँ सदस्यता मापदण्डका सन्दर्भमा प्रेस युनियन लुम्बिनी पूर्णरुपमा कार्यान्वयनको पक्षमा रहेको तर, प्रदेशका केही जिल्लामा सांगठनिक पूर्वाग्रह राखेर कार्यान्वयन गरेको देखिएकाले त्यसलाई तुरुन्त सच्चाउन माग गरिएको छ । साथै युनियनमा पनि शुद्धिकरण अभियानलाई प्रभावकारी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस्तै लुम्बिनी प्रदेशका विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजिवी पत्रकारहरुलाई आर्थिक संकटको वाहनामा पारिश्रमिक नदिने, ‘फोर्स लिभ’ मा राख्ने, पूर्णकालीनबाट आंशिक बनाउने काम भएको गुनासो आएको भन्दै सम्बन्धित सञ्चारमाध्यमलाई त्यसो नगर्न सचेत गराइएको छ । मिडियालाई सबल बनाए मात्र मिडियाकर्मी र पत्रकारिताको सुरक्षा हुने भन्दै साना लगानीका मिडियाको व्यवस्थापन र सवलीकरणमा सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

यसैगरी नेपाल प्रेस युनियनको केन्द्रीय समितिले घोषणा गरेको ‘‘पत्रकार प्रशिक्षण वर्ष २०८०” पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । लुम्बिनी प्रदेशका महत्वपूर्ण धार्मिक, प्राकृतिक र सांस्कृतिक क्षेत्रहरुको प्रचारप्रसार, संरक्षण र संवद्र्धनमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै मिडियामार्फत पर्यटन प्रर्वद्धनको मुद्दालाई उच्च प्राथमिकता दिने प्रतिवद्धता जनाइएको छ ।

दुई दिने प्रदेश स्तरीय भेलालाई सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण समय दिएर सहभागी हुने प्रमुख अतिथि, विशिष्ट अतिथि, केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रिय सदस्य, १२ वटै जिल्लाका जिल्ला कार्यसमितिका पदाधिकारी लगायत सहभागी सबैप्रति कृतज्ञता प्रकट गर्दै आतिथ्यताका लागि जिल्ला शाखा प्युठान र स्वर्गद्वारी आश्रम परिवारप्रति धन्यवाद ज्ञापन गरिएको छ ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिको आयोजना तथा प्यूठान शाखाको आतिथ्यतामा भदौ २२ र २३ गते पवित्र धार्मिकस्थल प्यूठानको स्वर्गद्वारीमा लुम्बिनी प्रदेशस्तरीय भेला र विस्तारित बैठक भव्य रुपमा सम्पन्न भएको महासचिव गिरीले बताए । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भेलाको उद्घाटन गरेका थिए । विस्तारित बैठकको उद्घाटन नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस