२९भदौ, काठमाडौं । राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश म्युजिक भिडियोका गायक जेल चलान भएका छन् । उक्त प्रकरणमा पक्राउ परेका अन्य ८ जना भने धरौटीमा रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतले राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश गीतका गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार अन्य ८ जना भने धरौटीमा रिहा भएका छन् ।
‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको ‘देशद्रोही’ शीर्षकको गीतको भिडियोमा राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश गरिएको थियो ।
युट्युवमार्फत सार्वजनिक उक्त भिडियोको विषयमा व्यापक विरोध भएपछि प्रहरीले गीतको गायनदेखि छायाङ्कनमा संलग्नलाई पक्राउ गरी मुलुकी अपराध संहिताको दफा १५१ को कसुर गरेको अभियोगमा मुद्दा चलाएको थियो ।
संहिताको दफा १५१ मा राष्ट्रि गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने व्यवस्था गरिएको छ । यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था संहितामा गरिएको छ ।