३० भदौ।, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्नो विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सोमबारको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खतिवडालाई मन्त्रीसरहको सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।
राष्ट्रिय सभाको सदस्य हुँदा अर्थमन्त्रीमा नियुक्त भएका खतिवडाको राष्ट्रिय सभाको पदावधि गत फागुनमै सकिएको थियो ।
तर, संघीय संसदको सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्रिपरिषद सदस्य हुन पाउने व्यवस्थाअनुसार खतिवडाले थप ६ महिना अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
संविधानअनुसार ६ महिनाको अवधि सकिने अघिल्लो दिन भदौ १९ गते राजीनामा दिएका थिए ।
खतिवडालाई पुनः राष्ट्रिय सभामा मनोनित गरी अर्थमन्त्री बनाउने प्रधानमन्त्रीको चाहनामा पार्टीले साथ नदिएपछि उनी राजीनामा दिन बाध्य भएका थिए ।