१असोज, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो ।
असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घण्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए।
सोमबार बसेको सरोकारवालाहरूको बैठकले रातिको समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गरिने निर्णय गरेको छ । सवारी बन्द गरेर काम गर्दा यात्रुलाई समस्या हुने भएकाले दिउँसो मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।
निर्माण कार्यस्थल नजिक हुने सक्ने सम्भावित सवारी चापलाई मध्यनजर गरी राजमार्गका उपयुक्त स्थानमा सवारीसाधन रोकी व्यवस्थापन गर्न पनि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।