रोल्पा । तीन वर्षमा रोल्पाबाट ६५ करोड बढीको खसीबोका जिल्ला बाहिर निकासी भएको छ । अन्य वस्तुको आयात हुनेगरे पनि खसीबोका भने अन्यत्र जिल्ला तर्फ बिक्री भइरहेको हो ।
खसीबोकाबाट तीन आर्थिक वर्षमै ६५ करोड बढी रकम जिल्लामा भित्रिएको छ । आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/८१ सम्ममा रोल्पाबाट मात्रै ६५ करोड १० लाख ८९ हजार खसीबोका जिल्ला बाहिर निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र रोल्पाले जनाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा २१ करोड ३० लाख ४८ हजारको खसीबोका जिल्ला बाहिर निकासी भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा २१ करोड ४१ लाख ६ हजार र आर्थिक वर्ष २०८०/०८१ मा २२ करोड ३८ लाख ५५ हजार बढीको खसीबोका जिल्ला बाहिर निकासी भएको विज्ञ केन्द्रका सूचना अधिकारी गिरबहादुर घर्तीमगरले जानकारी दिए । जिल्लामा २ लाख ५ हजार ७ सय ४० भन्दा बढी संख्यामा बाख्रापालन हुँदै आइरहेको छ ।
कृषि जनगणना २०७८ को तथ्याङ्क अनुसार रोल्पाका ४६ हजार ८ सय ४२ घर परिवार कृषि पेशामा आवद्ध छन् । ४४ हजार १ सय घरपरिवारले पशुपक्षी पालन गर्दै आएका छन् । जसमध्ये ३७ हजार ९१ घरपरिवारले बाख्रापालन गर्दै आएका छन् । तिनै बाख्रापालन गर्दै आएका किसानको खसीबोका काठमाडौँ, बुटवल, दाङ, पोखरा लगायतका शहरमा लगिन्छन् ।
रोल्पाका खसीबोका काठमाडौँ लगायतका प्रमुख शहरमा बढी माग रहेको छ । त्यसैगरी जिल्ला भित्र पनि माग अत्याधिक रहेको छ । यहाँका विभिन्न वन जङ्गलमा घाँससँगसँगै जडिबुटी पनि खाने भएकाले खसीबोका निरोगी र स्वस्थ हुन्छन् । यहाँका खसीबोकाको मासु स्वादिष्ट हुने भन्दै शहरका मानिस किन्न लालायित हुने गर्छन् । यहीँ कारण अन्य जिल्लाको तुलनामा रोल्पाका खसीबोकाको अन्य जिल्लामा बढी माग रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. शङ्कर न्यौपानेले बताए । काठमाडौँ, बुटवल लगायतका सहरमा खसी बोका बिक्री गर्दा किसानले बढी मूल्य पाउने हुँदा करोडौँको खसीबोका जिल्ला बाहिर निकासी हुने गरेको हो ।
बाख्रापालनका लागि हावापानी र वातावरणीय हिसाबले रोल्पा उपयुक्त ठाउँ मानिन्छ । जिल्लाका किसानले घरघरमा धेरथोर बाख्रा पालन गर्ने गरेका छन् । बाख्रापालनलाई बढवा दिन तीनै तहका सरकारले विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् । संघीय सरकारले बाख्रामा लाग्ने विभिन्न प्रजातिका रोग विरुद्धको औषधी तथा भ्याक्सिनहरू उपलब्ध गराउनुका साथै बाख्रा पकेट, बाख्रा ब्लक कार्यक्रम सञ्चालन गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. न्यौपानेले बताए ।
लुम्बिनी प्रदेश सरकारले स्मार्ट बाख्रा, मिसन बाख्रा पालन लगायतका कार्यक्रम मार्फत उत्पादन वृद्धिका कार्यक्रमहरू गर्दै आएको छ । जिल्लाका विभिन्न स्थानीय तहले पनि बाख्रापालन गर्ने किसानका लागि विभिन्न प्रकारका कार्यक्रमहरु ल्याएको प्रमुख डा. न्यौपानेले बताए ।
जिल्लालाई बाख्रापालनमा उदाहरणीय बनाउन प्रदेश र स्थानीय तहको समन्वयमा विज्ञ केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । बाख्रापालन प्रवर्द्धन लागि बाख्रा वितरण, उन्नत जातका बोका खरिद, खोर निर्माण लगायतका कार्यक्रम सञ्चालन गरिएका विज्ञ केन्द्रले जनाएको छ । विज्ञ केन्द्रका प्रमुख डा. न्यौपानेका अनुसार साना किसान र व्यवसायिक किसानलाई वर्गीकृत गरी खोर सुधार अनुदान, बजारीकरणका लागि संकलन सहजीकरण, संक्रामक रोगविरुद्ध निशुल्क खोप सेवा लगायत प्राविधिक सहयोग समेत गरिएको छ ।
पहाडी जिल्ला यहाँ बाख्रापालन व्यवसायलाई अझै विस्तार गर्नसके जिल्लामा ठूलो रकम भित्र्याउन सकिनेछ । यसैगरी अन्य वस्तुको उत्पादन वृद्धि गरी निकासी गर्नसके जिल्लाका किसानको आम्दानी बढ्नेछ ।