९असोज, जुम्ला। उनीहरू बिहानै उठेर उकालो यात्रामा निस्किन्छन्। माथिल्लो डाडाँभन्दा पर छैन, गन्तव्य।

उनीहरूलाई हतार छैन, र पनि हिँड्न थाल्छन्। दिनभर नबिसाइँ बथानसँगै अप्ठ्यारा र दिक्कलाग्दा खोचहरू छिचोल्नु छ।

बाख्रा र भेडासँगै हिँड्न लागेको एक दिन होईन, दुई दिन होईन, डेढ वर्ष भइसक्यो।

फाँट वरपरको जंगलमा चराहरू दोहोरी खेलिरहेको जस्तो लाग्छ। बादलका थुन्काहरु आफ्नै शीरमाथिबाट उडिरहँदा यस्तो लाग्छ, उनीहरु कतै जान हतारमा उडिरहेका छन्।


उक्लिदै जाँदा बेला-बेला रोकिने सास, भेडाहरूको चिच्याहट, बतासले छरेको सुगन्ध र पाटनबाट देखिने तिला नदी छेउको गुठीचौर उपत्यकाले लालायीत बनाउँछ।

मन लोभ्याउने सुन्दरताको बयान गरी साध्य नै छैन। जङ्गलैभर बाख्रा र भेडाको ुम्याराथनु दौडले हैरान पार्छ। यहाँ कुनै कोच छैन, यहाँ कुनै सांकेतिक ध्वजा छैन। छन् त निस्फिक्री दौडिरहेका, हिँडिरहेका र रमाइरहेका जन्तुहरू। कहिलेकाँही त यस्तोसम्म लाग्छ कि, उनीहरूलाई देख्ने मानिसहरू पनि एकछिन आफूलाई बिर्सिएर त्यही लिप्त हुन पाउँ।

एकाबिहानै बथान लखेट्दै पाटन मुनितिरको गोठछेउमा निस्केका मनिषा र गीता अधिकारी, जो हुलका हुल बाख्रा र भेटासँगै भेटिए। उनीहरू गाई, भैसी, बाख्रा र भेडासँगै गोठमा बस्न थालेको तीन महिना भयो।

जुम्लाको गुठीचौर गाउँपालिका– ४ घर भएका उनीहरू केही महिनायता पाटनमै छन्। भैसी, घोडा, बाख्रा र भेडाको बथान हेरचाह गर्न यहाँ आइपुगेका मनिषा र गीता यतै रमाइरहेका छन्।

यसबीचमा मनिषा तीनपटक गाउँ पुगेर पाटन फर्किइन्। गीता भने केही दिनपछि एकैपटक जानेछिन्। लेकमा उनीहरू एक्लै छैनन्, परिवारका अन्य सदस्य पनि बस्छन्।

उनीहरू गाउँकै स्कूलमा कक्षा आठ र कक्षा सातमा पढ्छन्। कोरोना महामारीले स्कूल बन्द भएपछि डेढ वर्षदेखि गोठमै रमाउने बानी परिसक्यो। अक्षरहरूमा चलमलाउने औँलाहरू अचेल स–साना लौरीहरू समाउँछन्। तर, फेरि औँलाहरू अक्षरहरूमा भने कुदाउनू त छ नै।

पहिले–पहिले तल्लो फाँटमा गाई–बस्तु हेर्ने मनिषा र गीता पाटन उक्लिएको भने बर्खा लागेपछि हो। उनीहरूजस्तै दर्जनौँ युवा-युवतीहरू स्कूल छुट्टीको मौका छोपेर सिरेटो डाँडासँग लुकामारी खेल्दै रमाइरहेका भेटिन्छन्।

‘हामीहरूलाई रमाइलो लाग्या छ। बुनउनो घुम्न पाइयाछु, मनिषाले भेडा धपाउदै भनिन्, ‘स्कुल बिदा भयोकी बुन आउन मन लागील्लोछ।ु

पाटनमा कमै मान्छे पुग्छन्। जिल्लाका खलङ्गा, गुठीचौरबाट सीधा हेर्दा नजिक लागे पनि ६/७ घण्टाको बाटो छ। चिमरा मालिका मन्दिरको तलपट्टीसम्म सडक पुगे पनि गाडी चल्दैनन्। आन्तरिक पर्यटकहरू भने बाइकबाटै पुग्छन्। प्रायः दिउँसो पिकनिकु गर्न र टावर आसपास बस्नकै लागि जानेहरू भेटिन्छन्।

जङ्गल हुँदै गाउँसम्म भालुको आतंक छ। ती आतंक र हल्लाकाबीच पाटन छिर्नैपर्ने गोठालेहरूको बाध्यता छ। उनीहरूलाई बस्तुभाउ चराउनु नै छ।

एकातिर प्रकृतिले अनुपम अनुहार त दिएकै छ, त्यसबाहेक पनि स्थानीयहरूको बोली, संस्कार र उनीहरूको निर्दोष व्यवहारले जो कोहीलाई पनि हुरुक्कै बनाउँछ।

यहाँको सुन्दरतालाई संक्षेपमा कुनै पेन्टिङ वा कुनै फिक्शन सिनेमासमेत पाउन सकिन्न। सुन्दरताको जादुयी भूगोल हो, यो ठाउँ।

बथानसँगै पाटनमा भेटिने मनिषा र गीताहरूको चिमरा मालिका बसाइँ सुखद होस्।