चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, आकस्मिक र कोभिड–१९ बाहेकका सेवा बन्द हुने

२१ असोज, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।

वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै संघले दबाबमुलक आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दूरी कायम गरेर धर्ना दिने कार्यक्रम रहेको संघद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी पर्सि २३ गते देशभर आकस्मिक र कोभिड–१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले बताएको छ । साथै यो अवधिमा पनि वार्ता टोली गठन गरी डा. केसीको सत्याग्रह अन्त्य नगरिए थप कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ ।

छ बुँदे माग राख्दै डा. केसी अनसन बसेको २४ दिन भएको छ, तर सरकारले वार्ता गरेको छैन ।

अनसन बसेको २३औं दिन शिक्षा सचिवको टोलीले उनलाई भेटेर औपचारिक वार्ता टोली नबनेको भन्दै अनसन अन्त्य गर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस