
रोल्पा । चाडपर्वको समयमा यात्रुलाई हुने समस्या न्युनिकरण गर्न जिल्ला ट्राफिक कार्यालय रोल्पाले विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ।
जिल्ला भित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि जिल्लाको चार ठाउँमा सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वको बेलामा यात्रुले विभिन्न सास्ती पाउन सक्ने भन्दै यातायातका साधनको सबैभन्दा बढी जमघट हुने ठाउँमा ‘सहायता कक्ष’ स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी सहायक निरीक्षक विक्रम विकले बताए ।
चाडबाडको समयमा भाडाका कारण यात्रु ठगिने, यात्रुको सामान हराउने, सवारीमा क्षमता भन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने लगायतका समस्या कम गराउन २४ घण्टे सहायता कक्षको स्थापना गरिएको उनले बताए । जिल्लाको घर्तीगाउँ, होलेरी, सुलिचौर र लिबाङमा ‘यात्रु सहायता कक्ष’ स्थापना स्थापाना गरिएको छ ।
त्यस्तै ट्राफिक प्रहरी कार्यालय रोल्पाले पाँच जना सवारी चालकलाई सम्मान गरेको । रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सवारी चालकलाई अविर खाडा लगाएर सम्मान गरेका थिए ।
