२२असाजे, रोल्पा । साहित्यिक सिर्जनामा सानै उमेरदेखि दख्खल राख्ने प्रेमप्रकाश जिएम कविता, गजल, निवन्ध र गीत सिर्जनामा निरन्तर तल्लिन छन् । फुटकर सिर्जना गरीरहेका कवि प्रेमप्रकाशले २०६५ सालमा यूङला रो मगर खाम भाषामा पहिलोपटक कविता संग्रह प्रकाशित गरेका थिए । निरन्तर संग्रह प्रकाशन गर्दै आईरहेका उनले पछिल्लो समय रगतको तर्पण कविता संग्रह पाठकको माझ ल्याएका छन् ।
विगतमा रोल्पा र दाङमा कृति विमोचन गर्दै आएका कवि प्रेमप्रकाशको रगतको तर्पण कविता संग्रह काठमाडौमा विमोचन भयो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा सोमबार संग्रह विमोचित भयो । प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा कृति विमोचन गरिएको हो । कुलपति राई, संस्कृतिकर्मी भीम कुमाखी, कवि बिमला तुम्खेवा र उपप्राध्यापक केशव सिलवालले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् ।
मायालु गीति एल्वम बाहेक रतगको तर्पण सातौं संग्रह हो । थबाङ गाउँपालिकाको उवाको अग्लो भूभाग भन्दा अझ उचाई बनाउदै कवि पे्रमप्रकाशले रगतको तर्पण कविता संग्रह मार्पmत काठमाडौबाट अव्वल सर्जकको चिनारी दिएका छन् । जबरजस्त रोल्पा एक बिम्ब बनेको भन्दै त्यहीँ रोल्पाली बिम्ब कविता संग्रहमा कवि प्रेमप्रकाशले समेट्न सकेको भन्दै कुलपति राईले खुशी व्यक्त गरिरहे विमोचन समारोहमा । प्रमुख अतिथि समेत रहेका कुलपति राईले कृति प्रकाशन गरेकोमा शुभकामना दिदै क्रान्तिको उद्गमस्थल रोल्पाबाट एकजना हस्तक्षेपकारी कविको रुपमा प्रेमप्रकाश उदाएको टिप्पणी गरे । ‘विचारको अस्थिपन्जर र कलाको मांशपेशीले कविताको सग्लो आकृति निर्माण गरेर प्रेमप्रकाशले एउटा पूर्ण कवितासंग्रह ल्याएका छन् ।’
जनसांस्कृतिक महासंघ, नेपालका अध्यक्ष भीम कुमाखीले प्रेमप्रकाशका कविताहरुले हरेक गलतका विरुद्ध आवाज उठाउँदै आलोचनात्मक चेतसहित समृद्ध समाज निर्माणको आव्हान गरेको टिप्पणी गरे । ‘प्रगतिशील चेत राख्ने कवि प्रेमप्रकाशले परिवर्तनको पक्षमा निरन्तर वकालत गर्दै राष्ट्रलाई प्रगतिपथमा डो¥याएर महत्वपूर्ण योगदान दिइरहेका छन् ।’, कुमाखीले भने । कवि तथा संचारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले प्रेमप्रकाशका कविताहरुमा कला र विचारको अद्भुत सन्तुलन रहेको टिप्पणी गरिन् ‘समकालीन कविहरुमा प्रेमप्रकाश आफ्नो पृथक पहिचानसहित उभिन सफल भएका छन् ।’, तुम्खेवाले भनिन् । प्रेमप्रकाशका कविताहरुमा नेपाली समाजका अन्तरद्वन्द्व र अन्तर्वस्तुहरुको मिहिन विश्लेषण रहेको टिप्पणी गर्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा कवि केशव सिलवालल भने, ‘परिवर्तनको पक्षमा आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका गुमनाम भुइँमान्छेहरुको पक्षमा प्रेमप्रकाशले कविता लेखेका छन् ।’
रोल्पा–काठमाडौं कलासाहित्य समाजद्वारा आयोजित कार्यक्रममा अस्मिता केसी, एलिसा एकलास, गीलु रातोस, छम गुरुङ, नवीन शर्मा, नुशा लिङ्देन र प्रज्वल अधिकारीले प्रेमप्रकाशको ‘रगतको तर्पण’ कवितासंग्रहबाट एक÷एकवटा कविता वाचन गरेका थिए ।
माटोमाथि केही अधिकार, जीवनसँग जहिल्यै पनि, भावहरुको भव्य भग्नावशेष शीर्षक तीन खण्डमा विभाजित प्रेमप्रकाशको कविता कृतिमा आगो लिन गएकाहरु, उल्टो यात्रा, रगतको तर्पण, विचार जरुरी छ, आन्दोलनमा अक्षरहरु शीर्षकका कवितासहित जम्मा बयालीस कविताहरु संग्रहित छन् । विमोचन कार्यक्रममा लुम्बिनी प्रदेश सांसद यमुना रोका, धर्मेन्द्र नेम्बाङ, स्वप्निल स्मृति, डा.विष्णुकुमार सिङ्जाली, नवीन रोकामगर, जीवन रोकामगर, बलबहादुर घर्तीमगर, सञ्जोग लाफामगर, मुक्तान थेबा, बाबू त्रिपाठी, असिम सागर, दीप दर्पण, कृष्णकिशु न्यौपाने, मिसन अधिकारी, उत्तम लिम्बू, मिथोच, राकेश चिन्तन, सुशीला तामाङ, प्रकाश चाम्लिङ लगायत कवि, कलाकार, पत्रकार, राजनीतिकर्मी तथा संस्कृतिकर्मीहरुको उपस्थिति थियो ।
कवि प्रेमप्रकाशको सिर्जना यात्रा
सालिन अनि सिर्जनामा रमाउने प्रेमप्रकाश सानै उमेरमा फुटकर साहित्यिक सिर्जना गरिरहन्थे । उनको पहिलो कविता संग्रह २०६५ सालमा प्रकाशित भएको थियो । मगर भाषामा यूङला रो (मनका कुरा) कविता संग्रह प्रकाशनपछि एक दशक बढी निरन्तर संग्रह प्रकाशन गरिरहे ।
२०६८ सालमा जीवनपर्यान्त कविता संग्रह, २०६८ मै त्रिसन्धि र राप्ती संयुक्त गजल संग्रह, २०६९ मा अनुभूति गजल संग्रह र २०७२ मा मगर भाषामा प्रातीका समय नामक निवन्ध पाठकमाझ ल्याएका थिए । २०७३ सालमा मायालु गीति एल्बम समेत बजारमा ल्याईसकेका छन् । गीति एल्बमपछि फुटकर रचना गर्दै आएका कवि प्रेमप्रकाशले रगतको तर्पण कविता संग्रह प्रकाशित गरेका हुन् । आधा दर्जन बढी संग्रह प्रकाशित गरिसकेका प्रेमप्रकाशको ‘रगतको तर्पण’ कवितासंग्रहलाई बिएन पुस्तक संसारले प्रकाशन गरेको हो ।
कवि प्रेमप्रकाशलाई विभिन्न पुरस्कार प्राप्त भएको छ । प्रातीका समय निबन्ध संग्रह पश्चात् ५० हजार बढी राशीको जिवसिम भाषा साहित्य पुरस्कार–२०७३ कविले प्राप्त गरिसकेका छन् । जीवनपर्यान्त कविता संग्रह प्रकाशित गरेपछि दियो नवप्रतिभा साहित्य पुरस्कार, सेती विष्ट साहित्य पुरस्कार र खोविलाल हुकुमादेवि छन्द साहित्य पुरस्कार समेत हात पारिसकेका छन् । थुुप्रै सम्मान ग्रहण गरिसकेका कवि प्रेमप्रकाशको साहित्यिक यात्राले झनपछि झन उचाई लिईरहेको छ ।


