रोल्पाका स्थानीय तहमा १ अर्ब १८ करोड बेरुजु

२३असोज, रोल्पा । रोल्पा जिल्लाका दश स्थानीय तहको बेरुजु १ अर्ब १८ करोड बढी रहेको छ । प्रत्येक आर्थिक वर्षको लेखापरीक्षणमा पालिकाहरुको बेरुजु थपिदै गैरहेको देखिन्छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० अन्तिम वार्षिक प्रतिवेदनमा जिल्लाका दश स्थानीय तहमा १ अर्ब १८ करोड १५ लाख १४ हजार २ सय १६ रुपैँया बेरुजु देखिएको हो ।

महालेखाको प्रतिवेदन अनुसार दश स्थानीय तह रहेको रोल्पामा सबै भन्दा बढी बेरुजु गंगादेव गाउँपालिकाको छ । गंगादेवको ३२ करोड ३ लाख ५० हजार बेरुजु रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा २५ करोड ४९ लाख १० हजार रहेकोमा आर्थिक वर्ष २०७९/८० मा ६ करोड ५४ लाख ४० हजार रुपैँया थप भएको छ ।

सबै भन्दा कम बेरुजु रहेको माडी गाउँपालिकाको ५ करोड ४ लाख ६ हजार रहेको छ । अािर्थक वर्ष २०७८/७९ मा ३ करोड ३७ हजार ९७ रुपैँया बेरुजु रहेकोमा आर्थिक वर्ष २०७९/८० मा १ करोड ६६ लाख ९ हजार रुपैँया बेरुजु थप भएको हो ।

त्यस्तै रोल्पा नगरपालिको बेरुजु गत आर्थिक वर्ष २०७९/८० मा १ करोड ९६ लाख ८५ हजार थप भएर ७ करोड २ लाख ७५ हजार पुगेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ मा ६ करोड २५ लाख ६० हजार बेरुजु रहेको थियो ।

त्रिवेणी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा ३ करोड ४३ लाख ८ हजार रुपैँया बेरुजु थप भएर ८ करोड ४९ लाख ९० हजार ७५१ पुगेको छ ।

रुन्टीगढी गाउँपालिकाको बेरुजु ८ करोड ५३ लाख ९३ हजार पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा ३ करोड ३९ लाख ६८ हजार थप भई सो रकम पुगेको हो । रुन्टीगढीको अािर्थक वर्ष २०७८/७९ मा ५ करोड १८ लाख ८५ हजार रहेको थियो ।

त्यस्तै सुनिलस्मृति गाउँपालिको आर्थिक वर्ष २०७९/८० मा १ करोड ६८ लाख ६१ हजार बेरुजु थप भई ७ करोड ३८ लाख २८ हजार पुगेको छ । सुनिलस्मृतिको आर्थिक वर्ष २०७८/७९ मा ५ करोड ६९ लाख ६७ हजार बेरुजु रहेको थियो ।

थबाङ गाउँपालिकाको बेरुजु १४ करोड ७२ लाख १७ हजार पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा २ करोड ५१ लाख ९५ हजार थप भएको हो । थबाङको आर्थिक वर्ष २०७८/७९ मा १२ करोड २० लाख २२ हजार रहेको थियो ।

सुनछहरी गाउँपालिको आर्थिक वर्ष २०७९/८० मा २ करोड ५७ लाख ११ हजार बेरुजु थप भई ८ करोड ८४ लाख ३३ हजार पुगेको छ । सुनछहरी गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ मा ६ करोड २७ लाख २२ हजार बेरुजु रहेको थियो ।

परिवर्तन गाउँपालिकाको बेरुजु १२ करोड ७२ लाख ७२ हजार ४ सय ६५ पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा १ करोड २६ लाख १० हजार थप भएको हो । परिवर्तनको अािर्थक वर्ष २०७८/७९ मा ११ करोड ४६ लाख ६२ हजार बेरुजु रहेको थियो ।

लुंग्री गाउँपालिकाको बेरुजु १३ करोड ३३ लाख ४९ हजार रहेको छ । आर्थिक वर्ष २०७९/८० मा ३ करोड १२ लाख २५ हजार थप भएको हो । लुंंग्रीको आर्थिक वर्ष २०७८/७९ मा १० करोड २३ लाख ७१ हजार बेरुजु रहेको थियो ।

रोल्पा स्थानीय तहहरुले अघिल्ला वर्षहरूमा जस्तै नियम विपरीत खर्च गर्ने प्रवृत्तिले निरन्तरता पाएको छ । स्थानीय तहले विभिन्न शीर्षकमा विनियोजन गरिएको बजेटको खर्च र भुक्तानीमाथि महालेखाले प्रश्न उठाएको छ ।

स्थानीय तहहरुले लेखापरीक्षण र बेरुजु असुलीका बारेमा खासै चासो नदिएको प्रतिवेदनमा उल्लेख छ । महालेखाको प्रतिवेदन अनुसार रोल्पाका स्थानीय तहले स्विकृत दरबन्दी भन्दा बढी करारमा कर्मचारी न्युक्तिका साथै कानुनी सल्लाहकार र प्रेस संयोजक समेत नियुक्ति गरी अनियमित भएकोे उल्लेख गरेको छ । नियमित गर्न सक्ने बेरुजुका विषयमा पनि स्थानीय तहले चासो नदिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस