थबाङ र मेरो अनुभूति

फाइल तस्विर

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि २०७९ साल मंसिर ४ गते निर्वाचन हुँदै थियो । नेपाली कांग्रेसको साङ्गठनिक संरचना कमजोर भएको गाउँपालिका पनि हो थबाङ । पार्टीको तर्फबाट थबाङ गाउँपालिकाका दुईवटा वडामा निर्वाचनको अवस्था र वस्तुस्थिति बुझ्नका लागि नेपाली कांग्रेस रोल्पाको तर्फबाट जानुपर्ने परिस्थिति सिर्जना भयो ।  

कहिले जाने, कसरी जाने, के गर्ने, कस्तो खालको अवस्था सृजना हुने हो, कसलाई लिएर जाने, एकखालको कौतुहलता मनमा खेल्न थाल्यो । ती तमाम कौतुहलताका बीचमा २०७९ साल मंसिर २ गते साँझ ६ बजेको समयमा थबाङको यात्रा तय गरियो ।

हामी छ जना शेरबहादुर थापा, पुर्णीमाया रोका, उचित रोका, रोशन गिरी, लिला बहादुर  रोकामगर मिलन घर्तीमगर पहिलो दिन जाने र थप दुई जना लालकुमारी वली र दिल बहादुर बानियाँ दोस्रो दिन थबाङ पुग्ने निर्णय गरियो ।  थबाङ पुग्नुभन्दा अगाडि नै थबाङमा भोट खस्छ की खस्दैन भन्ने एक प्रकारको चर्चा हुने गरेको थियो हुन, त थबाङ कुनैबेला शून्य मतदान गरेर चर्चामा थियो भने पहिलो पटक नेकपा माओवादीलाई शतप्रतिशत जस्तै मतदान गरेर चर्चामा रहेको थियो ।  उसो त थबाङले पञ्चायतकालीन समयमा बहिष्कार गरेर होस् या आफूलाई मन परेको उम्मेदवारलाई सत् प्रतिशत मतदान गरेर चर्चामा गरेको ठाउँ हो ।

त्यसकारण पनि एक प्रकारको मनोवैज्ञानिक योजना बनेको थियो । थबाङमा थुप्रै राजनीतिक चेत भएका साथीसँग कसरी संवाद गर्ने । धेरै मत खस्ने अवस्थामा के गर्ने र मतदान नहुने अवस्थामा के गर्ने भन्ने कौतुहलताका बीच राति ११ बजे थबाङगाउँ पुगियो । चिसोले च्याप्दै थियो तथापि थबाङकै भूमिमा बसेर नेपाली काङ्ग्रेसको राजनीति गर्ने कुनै पनि पार्टीका साथी नहुँदा के होला कसो हो भन्ने एक प्रकारको मनमा सनन्ता भने कायमै थियो ।

थबाङ पुगेपछि होटेलमा बस्ने र खानाका लागि पहिले नै यकिन गरेकाले बस्नका लागि ठूलो समस्या थिएन । तथापि पहिलो पटक चुनावका लागि गएकाले राजनीतिक रुपमा हामीलाई चुनावको समयमा कसरी थबाङी जनताले हेरेका छन् भन्ने चासो र चिन्ता भने व्याप्त थियो । त्यस दिन त होटेलमा बस्ने बाहेक अन्य कुनै गतिविधि गर्ने अवस्था थिएन । भोलिपल्ट के गर्ने भन्ने प्रकारको चिन्ता भने मनमा रहेकै थियो । विगतको निर्वाचनमा मतदान प्रतिनिधि भएर गएको पुरानो अनुभूति मनमा एकहोरो आउँदै थियो ।

 २०६४ सालको संविधान सभा निर्वाचनमा जेलबाङमा मतदान प्रतिनिधि भएर गएको थिएँ । जुनदिन म जेल्बाङ पुगे त्यसैदिन २०६४ साल चैत्र २६ गते दाङको लमहीमा ९ जना नेकपा माओवादीका कार्यकर्ता मारिएका थिए म बसेको घर बाहिर माओवादी कार्यकर्ता दाङको घट्नालाई लिएर कांग्रेसको मासु खानुपर्छ ठूलो आवाजमा भन्दै थिए ।

 पुष्पकमल दाहाल प्रचण्डले रोल्पा क्षेत्र नं २ छोडेपछि भएको उपचुनावमा पाछाबाडमा मतदान केन्द्रमा मतदान प्रतिनिधि भएर गएको थिए भने २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा जेलबाङमा नै मतदान प्रतिनिधि भएर गएको अनुभव थियो ।

विगतको निर्वाचनमा मतदानप्रतिनिधि भएर जाँदा एक जना मात्र साथी लिएर गइएको थियो भने यसपटक आठ जना साथीका साथ चार जना साथी भने जस्तोसुकै अवस्थामा पनि साथ दिन सक्ने साथीहरुका साथमा गइएको थियो । यस पटकको निर्वाचन आफैमा फरक ढंगले हुँदै थियो । जुन पार्टीसँग राजनीतिक दृष्टिकोण र सिद्धान्त मिल्दैन रोल्पा जिल्लाको सन्दर्भमा लामो शत्रुतापूर्ण इतिहास रहेको छ, उसैसँग चुनावी तालमेल गरेर चुनावमा होमिदैँ थियौं ।

साविक थबाङ गाविस दुईवटामा विभाजित छ । दुईवटा वडा कार्यालयको दुरी एक सय मिटरको हाराहारीमा रहेको छ । थबाङ गाविसकै नामबाट गाउँपालिको नाम नामाकरण गरिएको छ । दुई वटा वडामा चारवटा मतदान केन्द्र रहेको छ । थबाङले सामाजिक आर्थिक राजनीतिक र भौतिक रुपमा आफूलाई परिवर्तन गरेको छ । थबाङले राज्य र वर्तमान राजनीतिलाई हेर्ने दृष्टिकोणमा परिर्वतन भएको छ सडक खानेपानी भौतिक संरचना निर्माण शैक्षिक क्षेत्रमा भएको परिवर्तन पूर्णरुपमा कोल्टे फेरेको देखिन्छ ।  

थबाङ प्रतिको मेरो दृष्टि

 म पहिलोपटक २०६२ साल जेष्ठमा थबाङ पुग्दा र २०७९ सालको मंसिरमा पुग्दाको परिवर्तित अनुभूतीमा फरकपन आएको छ । २०६२ सालमा थबाङ पुग्दा सामुहिक जनकम्युनहरु थिए । सामुहिक रुपमा बसोबास थियो । त्यो थबाङ गाउँको होस् या राचीबाङको होस् । त्यतिमात्र होइन जनवादी स्कुल समेत थियो । साथै तत्कालिन माओवादीको नीति विपरित कार्य गर्ने जनकार्वाहीको नाममा जनकार्वाहीमा कैदी गराएर राखेका थिए ।

थबाङ आफूलाई खाती कम्युनिष्टको रुपमा उभ्याएको देखिन्थ्यो । थबाङ पुगेपछि कुनै कुराको जानकारी लिनका लागि गाउँलेलाई सोधियो भने त्यस गाउँका वडा प्रमुख वा  कुनै टोलगाउँमा  प्रमुख वा मुख्य मान्छेलाई सोध्नुपर्छ भन्ने जवाफ गाउँलेबाट प्राप्त गर्न सकिन्थ्यो ।

कुनै घरमा वा टोलमा पुग्नका लागि वडाको मुख्य मान्छेले खताएको व्यक्तिको माध्यमबाट मात्र जान सकिन्थ्यो । यस गाउँका मुख्य मान्छेबाट यस प्रकारको सहयोग थबाङ बाहेक मिरुल कुलेरी उवा सेरम गाम सिउरी जेलबाङमा समेत पाउने गरिन्थ्यो । लाग्थ्यो यो कति राम्रो समाज रहेछ कति राम्रो प्रकारको सामुहिकता रहेछ ।

थबाङ पुग्ने जो कोहीले पनि यस प्रकारको सहयोग पाउथ्यो होला जस्तो लाग्छ । थबाङ आफैमा एकल जातीय बसोबास भएको गाउँ हो । आफ्नै  प्रकारको भाषा संस्कार संस्कृति खानपान मुल्यमान्यता बोकेको समाज हो । शहीद मार्गले थबाङलाई नजोड्दासम्म अधिकाँस घरहरु ढुङ्गाको गारो र काठको फल्याकले छाएका घरहरु थिए । राजनीतिमा समेत एउटै पार्टीमा वा विचारधारामा आवद्ध भएको देखिन्थ्यो ।

२०६४ सालको पहिलो संविधानसभाबाट ठूलो पार्टी भएको नेकपा माओवादी केन्द्रको देशव्यापी रुपमा एकप्रकारको दबदवाह थियो । रोल्पा क्षेत्र नं दुई र काठमाडौं  क्षेत्र नं १० बाट चुनाव लडेका पुष्पकमल दाहाल प्रचण्डले रोल्पा छोडेर काठमाडौं रोजेपछि उप चुनाव हुँदै थियो ।

थबाङ घर भएका हाल नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाका नेता सन्तोष बुढामगर चुनाव लड्दै थिए । जसरी २०७९ को निर्वाचनमा हामी थबाङ जाँदै थियौं त्यसैगरी नेकपा एमालेका तत्कालिन पार्टी सचिव शान्तकुमारी वली थबाङ पुगेका थिए । म पाछाबाङबाट साँझ ५ बजे हिँडेको अर्को दिन बिहान ६ बजे लिबाङ आइपुग्दा रगतैरगतले मुछिएका शरिरभरी नीलदाम भएका शान्तकुमार वलीलाई देखे । आजको दिनमा लाग्छ मलाई फरक राजनीतिक पार्टीको नेता भएकै कारण रक्ताम्य गराइएका शान्त कुमार वलीलाई कुटपिट गर्ने वा गर्न लगाउँने नेताले आजको दिनको कल्पना गरेका थिए की थिएनन् होला ।

जब अर्को दिन मंसिर ३ गते थबाङ बजारमा प्रवेश गरियो त्याँहा एकप्रकारको बहस छेडिएको थियो । मतदान गर्ने कि नगर्ने । कति भन्दै थिए । २०७९ सालमा सँगसँगै एउटै मन्चमा बसेर भाषण गर्ने काँग्रेस र माओवादीका नेता २०५२ सालमा थबाङमा सँगसँगै आएर थबाङी जनताको अगाडि भाषण गर्ने वातावरण किन बनाउन सकेनन् । त्यस्तो कुन शक्तिले छेकेको थियो या आज सँगसँगै थबाङ आउन सक्ने वातावरण कसले तयार पारिदियो । कति भन्दैथिए थबाङी जनतालाई आजको अवस्थामा ल्याउन अर्थात दर्जनौं थबाङीको ज्यान लिने अङ्गभङ्ग बनाउने र घरबार बिहिन अवस्थामा पुराउने प्रचण्ड नै हुन थबाङ आएपछि कुकुरी हान्नुपर्छ भन्दै थिए ।

कतिले हामीले नेपालको हरेक राजनीतिक परिवर्तनमा फरक मत राख्दै आयौं त्यसले हामी बास्तविक थबाङीलाई मात्र पछि पार्यो अब जताजता देशको राजनीतिक बग्छ त्यतैतिर हामी थबाङी पनि लाग्नुपर्छ वा हामी परिवर्तन हुनुपर्छ भन्दै थिए । सायत २०६४/०६५ को थबाङ परिवर्तन भएछ क्यारे २०७९/०८० मा आउँदा मतदान सम्पन्न गर्नका लागि मतदान अधिकृतले आयोजना गरेको सर्वदलीय बैंठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, मंगोल नेश्लनल अर्गनाइजेसन र छड्मभेषमा स्वतन्त्र उम्मेदवारका स्थानीय प्रतिनिधि सहभागी थिए भने बाहिरबाट ठूलो मात्रामा विप्लवले नेतृत्व गरेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता मतदान किन गर्ने भनी छलफल गर्दै थिए ।

कतिले त अब मतदान नै गर्ने हो भने नेपाली कांग्रेस र एमाले रोजे भैगो नि किन माओवादी बन्ने भन्दै थिए । हामीलाई जुन व्यवस्थाको विरुद्धमा लड्न भिड्न लगाइयो ज्यान लिन र दिन लगाइयो आज त्यही शासन व्यवस्थाको रक्षाका लागि चुनाव लड्ने । यो व्यवस्थाको सच्चा पहरेदार नेपाली कांग्रेस हो अब कांग्रेसलाई भोट हाल र कांग्रेस बन भन्दै थिए एक पूराना माओवादीका नेता ।

आजको थबाङ

नेकपा माओवादीबाट प्रचण्डपथ वा प्रचण्डको पार्टीमा रुपान्तरण भएसँगै  हिजो आफ्नो नेताप्रति इमान्दारका साथ पूरा सम्पति र जिउज्यान अर्पिने थबाङी जनता जसरी थबाङीभूमिमा काठको पल्याकको छानो भएका घरहरु जस्तापाता र सिमेन्तेत भवनमा रुपान्तरण भएका छन् । घरको आँगन घरको ढोका नजिको बरेन्डामा बस्ने सुँगुरले बास परिवर्तन गरेर पक्की खोरमा पुगेका छन् ।

त्यसैगरी शहीद मार्गले तराईको महेन्द्र राजमार्ग र मध्यपहाडी राजमार्गमा जोडेपछि थबाङ आफ्नो  ठाउँबाट माथि उठेर विकल्प रहित कम्युनिष्ट विचारधारामा मात्र राजनीतिक विचारविमर्श गर्ने थबाङ विकल्प सहितको राजनीतिक विचारधारामा समेत पुःन विचारविमर्श बहस छलफल गर्न थालेको छ । साँचिकै थबाङ राजनीतिक बन्धनबाट मुक्त भएको हो की अब थबाङको विकास सम्वृद्धि न्याय सुशासन सामाजिक चेतकाका लागि नविन आयाम थप्न जरुर छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस