संस्मरण : जम्काभेटमा ब्रह्मचारी

सोमबारको दिन स्नातकोत्तर दोस्रो सेमेष्टरको परीक्षा अघिल्लो दिन नै सकेर म मेरो गृहजिल्ला रोल्पा फर्किने र कर्मथलो लिबाङ पुग्ने हेतुले बिहानै यात्राका लागि टाटा सुमो सेवासँग सम्बन्धित काउन्टरका साथिलाई फोन गरे, ढिलै भएपनि आनन्दसँग यात्रा गर्ने उद्देश्यले अगाडिको १ नम्बर सिट रिजर्भ गराउँन लगाएको थिए ।

मलाई फोनबाट टिकट काउन्टरका कर्मचारीले एक नम्बर सिट भएको टाटा सुमो दिउँसो २ः३०मा छुट्ने जानकारी गरेका थिए । मैले रोल्पा लिबाङसम्मको यात्राका लागि सहिद गेट घोराहिबाट सुमो चढ्ने जानकारी गराए ।

काउन्टरले गराएको जानकारी अनुसार दिउँसो ठिक २ः३० बजे एक थान झोला, किताब र अन्य कपडा भएको एउटा बोरा सहित म सहिद गेट नजिकै पुगेर चालकलाई कता पुग्नुभयो, कता हुनुहुन्छ? भनेर फोन गरे चालकले सुमो एकछिनमा त्यहाँ आउँछ पर्खनुस भनेपछि म सहिद गेट नजिकै रहेको राप्ती शिक्षा सदनमा पुँगेर उभिराखेको थिएँ ।

पुस्तक पसलमा उभिइरहँदा सुमो कुर्ने समयसम्म पुस्तकहरु हेर्नुपर्यो भनेर म पुस्तक पसलमा छिरे र लोक सेवा तयारीका लागि भर्खरै लुम्बिनी प्रदेशले विज्ञापन गरेको वन रक्षक पदको पुस्तक देखाउन लगाए ।

२÷३ जना लेखकको पुस्तक हेरे मैले ति पुस्तकहरुको विचमा आफ्नो पुस्तक भेट्टाउन नसकेपछि आफ्नो पुस्तक त्यहाँ पसलमा विक्रिका लागि राख्न अनुरोध गरे ।

पसलेले मलाई २५ प्रति पुस्तक छोड्न भने । मैले सोहि बमोजिम म सँग भएका ४५ थान पुस्तक मध्ये २५ प्रति पुस्तक त्यही स्टेशनरीमा छोडिदिए र पुस्तक पसलको भिजिटिङ कार्ड मागेर राखे ।

त्यतिकैमा मैले यात्रा गर्नुपर्ने सुमो सहिद गेट नजिकै पुगेर चालकले मलाई कहाँ हो, तपाईं भनेर फोन गरे । मैले सोहि ठाउँ नजिकै रहेको भन्ने हातको संकेत गर्दै सुमोतर्फ पुगे र आफ्नो झोला, किताब र कपडा रहेको बोरा सुमोमा राखेर सुमोको १ नम्बर सिटमा थचक्क बसेपछि हाम्रो घोराहीबाट लिवाङ तर्फको यात्रा सुरु भयो ।

करिब ३ः०० बजेतिर यात्रा सुरु भयो बिस्तारै म लगायत यात्रुहरुले घोराही छोड्यौँ । लमही पुग्न नपाउँदै मलाई गर्मि सहितको मिठो निद्राले आँखा बन्द गराउन सफल भएछ ।

जुन लालमटीया भन्ने ठाउँमा पुगेपछि ड्राईभरले आफूलाई ट्राफिक प्रहरीबाट बच्न वेल्ट बाँधिदिन अनुरोध गरेपछि मात्र ब्यूँझिए र ड्राईभरलाई सिट बेल्ट बाँधिदिएँ । त्यसपछि हाम्रो यात्रा भालुबाङ पुगेर १०ः१५ मिनेटजति रोकियो । यात्राकै क्रममा भालुवाङमा केही समय सुमो रोकिएपछि कसैले फलफूल त कसैले जंकफुड÷पत्रु खाना (तयारी खाना) किनेर खायौँ ।

त्यसपछि भालुवाङबाट सुमो अगाडि बढ्यो । हामिले दाङलाई छोडेर प्युठानको यात्रा तय गर्यौँ । प्युठानको चकचके क्षेत्र प्रवेश गर्नुपूर्व डाँडोमा एउटा भर्खर÷भर्खर नयाँ स्थापना गरेजस्तो होटेल आउँछ । चालकले बेलुका करिब ६ः०० वजेको समयमा त्यहि होटेलनेर रोकेर म लगायत सबै यात्रुहरुलाई चिया नास्ता खानेभए खानुस है पिसाबको लागि पनि रोकेको हूँ, भनेपछि हामी त्यतै लाग्यौं ।

करिब २० मिनेट हामी त्यही रोक्यौ । कसैले कुरकुरे, पानी त कसैले चिया खायौं । मैले कागती राखेर एक कप कालो चिया ल्याउन होटेलको साहुनीलाई अनुरोध गरें ।

साहुनीले कागती छैन अदुवा राखेको कालो चिया दिउँ भनेर उत्तर फर्काईन । मैले अदुवा चियालाई सहर्ष स्वीकार गरे । अर्डर गरेको २ मिनेट नपुग्दै अदुवा हालेको थर्मसभित्र दिनभरी पालेको कालो चिया काँचको गिलासमा होटेलकी साहुनीले ल्याईदिइन । दिनभरीको थर्मस भित्रको थन्क्यावाईले चियाको स्वादमा खल्लोपना देखिएपनि मैले कुनै संकोच नमानी मस्त तरिकाले सुरुप÷सुरुपको तालमा चिया पिइरहेको थिए ।

चिया पिईरहेकै बेला मेरो नजर एकजना नजिकै अलग्गै छेउमा बसेका बुढा मानिसमा पर्यो । बुढाले अलग्गै तलतिर ढुंगामा बसेर पाउरोटीसँग चिया पिइरहेका थिए । झुत्रो र मैलो कपडा, चाउरिएका गाला, फूलेको दाह्री र थकित मुद्रा तर ओठभरी देखावटी मुस्कान झट्ट हेर्दा अधिकांस नेपाली नागरिकको प्रतिनिधित्व गर्न सक्ने मान्छे । मैले ती बुढालाई राम्रोसँग नियालेर हेरे ।

बुढालेपनि म तिर हेरेर देखावटी मुस्कान छोडेर मुसुक्क हाँसे । ती बुढाको देखावटी मुस्कानले नजिकिन बाध्य पारेछ क्यार, म ती बुढाको बारेमा जान्न उत्सुक हुँदै बुढाको छेउमा पेटिजस्तोमा ढुँगाको गारो लगाएको ठाउँ थियो त्यहीं पुगेर संगसंगै थचक्क बसे । ती बुढा मान्छेले म नजिकै गएर बसेको देखि आश्चार्य मानेर मतिर एकछिन सम्म हेरिरहे मात्र केही बोलेन्न । त्यतिकैमा मैले चिया मिठो छ ? भनेर बुढालाई सोधे ।

बुढाले धेरै मिठो छ भनेर उत्तर फर्काए । बुढाले उत्तर फर्काई सक्न नपाउँदै मैले अर्को प्रश्न थपिहाँले । पाउरोटी पनि मिठो छ होलानी ? बुढाले यसपालिको यो प्रश्नमा मुसुक्क हाँसेर ‘अँ चियामा राखेर खाँदा मिठो नै छ’ भनेर उत्तर फर्काए । म पनि हाँसे । मलाई बुढाको अश्वभाविक र खल्लो मुस्कानमा लुकेको वास्तविक रहस्य बारे धेरैकुरा जान्न मन लाग्यो र गफगाफकै शैलीमा प्रश्नहरु तेर्साउँदै गएँ ।
छोटो समयमा मिठो संवाद सुरु भयो ।

मः अनि बा, तपाईको घर कहाँ हो अनि यहाँ के गर्दै हुनुहुन्छ?

बुढाः मेरो घर रोल्पाको मिझिङ हो उ त्यो सुलिचौरको माथि । म यहाँ होटेलमा बाल्ने दाउरा काट्ने मजदुरी गर्न आएको हूँ ।

मः य हो! यत्ति बुढो उमेरमा यत्ति टाढा आएर किन मजदुरी गर्नुहुन्छ ? कति छ ज्याला दैनिक ? छोराछोरी छैन्न ? कति भयो हजुरको उमेर ?
मैले प्रश्नहरु तेर्साईरहँदा खुब चाख लगाएर सुनिरहेका बुढाले मेरो प्रश्न अनुसार नै जवाफ दिन थाले ।

बुढाः मेरो बिहे नै भएन । बा ले विहे गर्देन्न । आफूलाई कसैेले पत्याएन । विहे गर्नै जानिएन । बिहे नगरेपछि छोराछोरी हुनेकुरा भएन । उमेर त तीन बीस भन्दापनि बढि भईसक्यो । अब काम पाईदैन म जस्तोले कता के काम गर्नु एक्लो जिउँ पाल्नकै लागि भएपनि गर्नै पर्यो । दिनको सुख्का २०० छ खाना खाएरअँ अँ.. खै मैले त पढेलेखेको छैन बिर्सेछु । अलिअलि छ । पढलेख गरिएन हिसाब जान्दैन । बुढाको यस्तो जवाफ सुनेपछि म अलि भावुक भएँ र त्यो देखावटी मुस्कान भित्र लुकेको वेदना र पिडाहरु खोतल्ने प्रयास गरे ।

मः ए हो । तपाईको नाम चाहिँ के हो नी ? पैशा त चिन्नुहुन्छ नि ? अनि हजुरसँग कोहि मान्छे छैन्न? घरमा कोही छैन ?

बुढाः मेरो नाम मिश्रि गिरी हो । अँ अँ हजार पचास र बीस चिन्छु अँ अँ अरु। मैले विहे गर्न सकिन । भाईले गर्या छ । म पनि भाई सँगै बस्छु । भाईले खोटोमा काम गर्छ, उ के.. सल्लाको खोटो ।

मः ए ए… अनि तपाईलाई विवाह नगरेकोमा कुनै पछुतो छैन ? विहे गरेको भए हुन्थ्यो जस्तो लाग्छ कि नगरेर ठिकै गरिएछ जस्तो लाग्छ? भनेर प्रश्न गरे ।

बुढाः एक छिन । शान्त रहेर के गर्ने बा ले ब्या गर्देन्न, मैले ब्या गर्न सकिन । अब त बुढो भईगए कस्ले पत्याउँछ र अब । अब के भन्ने ब्या गर्या भए छोराछोरी हुन्थे । आफ्नो बुडि हुन्थी कसैले मानेन्न ।

यत्तिसम्म कुरा भईसक्दा सुमोको चालकले ढिला भयो हो जाउँ भनेर म तिर इशारा गरे । मैले ती ब्रह्मचारी बुढालाई अभिवादन गर्दै विदा भए । बाटोभरी बुढाको बारेमा सोंचे अधिकांस नेपालीको हैसित त यहिनै हो । यद्यपि बुढाको विहे नहुनु चाँहि थप समस्या रहेछ । कोहि नेपाली भोकले मर्नु पर्दैन भनेर काठमाण्डौँका मञ्चहरुमा विभिन्न निकायबाट भाषणका वर्षाहरु भईरहँदा नेपालको पछिल्लो राजनीतिक परिवर्तनमा महत्वपूर्ण योग्दान दिने रोल्पाको हालत भने अर्को जिल्ला पुगेर दाउरा काटेर पेट पाल्ने अवस्था रहेछ भनेर आत्मग्लानी महसुस गरे । राज्यका अधिकांस उच्च ओहदामा आसिनहरुको विदेशमा उपचार, छोराछोरीलाई हरुको विदेशि विलासी जिवनशैली र रवाफ सहितको यात्रा अनि जिवनशैली र मिश्री गिरीहरु जस्ताको जिवशैलीको तुलना गररै । मिश्री विज्ञानको नियम अनुसार बाँच्नका लागि संङ्घर्षरत छन । तर ती बिलासी उच्च पदस्थहरु अनावस्यक संङ्घर्ष र अराजकताको शिर्जना , अवसरवादका लागि बाँचिरहेका छन ।

फरक यत्ति छ मिश्रीले दुःख र पिडालाई वास्तविक जिवनको प्रतिविम्बको रुपमा स्वीकार गरेका छन । तर उनीमा उच्च पदस्थहरुमा नभएको एउटा राम्रो गुण छ सबैको भलो चाहाने । मनमा अमिलो महशुस गर्दै पुनः सुमोको यात्रा सुरु गरेर बेलुका ८ः३० तिर गन्तव्यमा पुगे । मिश्रीहरुजस्ताको मनमा कसरी नाम जस्तै गुलियो र मिठो अनुभुती ल्याउन सकिन्छ भनेर सोच्दै सोच्दै ।

( लेखक: क्षेत्री राजनीतिशास्त्र र सार्वजनिक नीति व्यवस्थापनका क्षेत्रमा स्नातकोत्तर अध्ययनरत हुन ।)

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस