एजेन्सी । पाकिस्तानमा बैबाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ ।
कोरोनाभाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो ।
पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार ६५० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको छ । योसँगै पाकिस्तानमा अहिलेसम्म तीन लाख ४४ हजार ८३९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
त्यसैगरी पाकिस्तानमा कोरोनाभाइरसका कारण अहिलेसम्म छ हजार ९७७ जनाको मृत्यु भएको छ । ती मध्ये नौ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कुल सङ्क्रमित मध्ये तीन लाख १८ हजार ८८१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
पाकिस्तानमा १८ हजार ९८१ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन भने ती मध्ये ९७२ जनाको अवस्था गम्भीर रहेको छ ।
सङ्क्रमित र मृतकको संख्या दोस्रो चरणमा बढ्दै गएपछि महामारी न्युनिकरण गर्न नेश्नल कमाण्ड एण्ड अप्रेसन सेन्टर ९एनसिओसी०ले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको छ ।
नयाँ निर्देशिका अनुसार बैबाहिक समारोहमा सहभागी अतिथिहरुले कम्तीमा छ फिट दूरी कायम गर्नुपर्ने, बैबाहिक कार्यक्रम दुई घण्टामा सम्पन्न गर्नुपर्ने र राति १० बजेभन्दा अगाडि नै गरिसक्नु पर्ने भएको छ ।
सवै सहभागीलाई मास्क प्रयोग अनिवार्य गरिएको छ भने बैबाहिक कार्यक्रम गर्ने ठाउँमा सामाजिक दूरी कायम गरेर बस्न मिल्ने व्यवस्था भएको सुनिश्चित गर्नुपर्नेछ ।
बैबाहिक समारोहमा सहभागी हुने सवैको ज्वरो परीक्षण गर्नुपर्ने, भोजनका बेला आफै झिक्ने व्यवस्था गर्न नपाईने, वितरण गर्ने छुट्टै व्यवस्था हुनुपर्नेलगायतका नियमहरु पनि निर्देशिकामा राखिएको छ ।
आयोजकहरुले सवै सहभागीहरुको नाम, सम्पर्क नम्बरलगायतका विवरणहरु स्थानीय प्रशासनलाई उपलब्ध गराउनु पर्ने व्यवस्था पनि गरिएको छ ।