२५ कार्तिक, सुलिचौर। केहिवर्ष अघिसम्म गाउँघरका प्राय सबै किसानका घरघरमा दुहुना गाई र हल गोरु हुने गर्दथे । हरेक परिवारले लस्करै गाई र कम्तीमा एक हल गोरु पाल्ने चलन नै थियो । त्यही हल गोरुले खेतबारी जोटेर अन्नबाली लगाउने गर्दथे । तर पछिल्लो समय गाउँघरमा गोरु पाल्ने परम्परा क्रमशः कम हुँदै गएको छ । किसानहरुले गाई, गोरु पाल्न छाड्न थालेका छन् ।
गोरुको काम आधुनिक प्रविधिबाट गर्न थालेपछि किसानले गोरु पाल्न छाड्न थालेका हुन् । यसले परम्परागत रुपमा गोरुको प्रयोगबाट खेतबारी जोट्ने परम्परा पछिल्लो समय हट्दै गएको संकेट गरेको छ । आधुनिक कृषि प्रविधिको प्रयोगमा वृद्वि हुँदा ग्रामिण पहाडी भुभागका किसानहरुले पनि हल गोरुबाट खेतबारी जोट्न छोडसकेका छन् । बारीमा मकै, गहुँ, जौ, फापर लगायतका बाली लगाउन मात्र होईन, खेतमा धान रोप्नका लागि खेत जोत्ने काम अहिले गोरुको सत्तामा मिनिटिलर (हाते ट्याक्टर) को प्रयोग बद्ढो छ ।
सुनीलस्मृति गाउँपालिका–७ तेवाङका साहिराम पुन केहि वर्षयता आफूले ट्याक्टरकै प्रयोगबाट खेतबारी जोट्दै आएको बताउछन् । ‘केहि समय अघिसम्म सबैले बारी जोत्नको लागि गोरुको प्रयोग गर्दथे तर पछिल्लो समय क्रमशः गोरु पाल्ने परम्परा हट्दै गएको छ ।’ पुनले भने, ‘अहिले गाउँमा प्रायको घरमा गोरु छैनन् । किसान गोरु पाल्न छोड्दै छन् ।’ आधुनिक प्रविधिले गर्दा खेती गर्दा लाग्ने खर्चमा पनि कमि आएको पुनको भनाई छ ।
ट्याक्टरको प्रयोगले बारी जोट्दा छिटो र छरिटो हुने गरेको पुन बताउँछन् । ‘वर्ष भरी गोरु पाल्यो, वर्ष भरी खुवायो, खेतीको समयमा मात्र हो गोरुको काम, गोरुको प्रयोगबाट बारी जोट्न पनि अत्यन्तै समय लाग्ने, बारीका कुनाकाप्चासम्म गोरुले जोत्न नसक्ने, पछि फेरी खेताला लगाएर कोदालोले खन्नुपर्ने, मिलाउनुपर्ने, डल्ला फुटाउनुपर्ने ।’ पुनले प्रविधि प्रयोगको औचित्य सिद्ध गर्दै भने, ‘अहिले मिनीटिलरले जोत्दा निकै छिटो काम हुन्छ, कुनाकाप्चा सबै ठाउँमा भ्याउँछ, कोदालोको त कामै हुन्न, डल्ला फुटाउनुपर्ने झन्झट पनि हरायो, खर्चको हिसाबले पनि निकै सस्तो हुन्छ ।’
अर्का किसान दिपक विष्टले देशमा रोजगारीको प्रयाप्त अवसर नहुँदा युवाहरु विदेशिएकाले गाउँ खाली जस्तै भएको र काम गर्ने युवा नै नभएपछि गोरु पाल्ने चलन पनि हराउँदै गएको बताउछन् । ‘घरमा काम गर्ने मान्छे नै छैनन्, गोरुलाई चराउने, घाँस पानी गर्ने कोही नभएपछि बिस्तारै गाउँका मान्छेले गोरु पाल्न छाड्नै गएका छन् ।’ विष्टले भने, ‘मिनीटिलरले काम गर्दा निकै छिटो हुन्छ, समयको धेरै बचत हुन्छ, खर्च पनि कम हुन्छ, गोरुको प्रयोगबाट जोट्दा खर्च डबल हुन्छ ।’
गोरुले जोतेको जमिनमा र मिनीटिलरले जोतेको जमिनमा उत्पादनमा भने केहि फरक हुने गरेको किसानहरुको अनुभव छ । प्रविधिले गर्दा जोत्ने काममा छिटो, छरितो र सहज भएपनि अन्नबाली उत्पादनमा भने फरक हुने गरेको किसान बताउछन् ।
गोरुले खेतबारी जोत्दा समय लागेपनि उत्पादन राम्रो हुनेगरेको र मिनीटिलरले छिटो भए पनि उत्पादनमा केहि कमी आएको किसान बताउछन् ।
अहिले किसानलाई मकै, धानबाली भित्र्याउने र बारी जोट्ने चटारो छ । बारी जोत्नका लागि गाउँका किसानले मिनीटिलरको प्रयोग गरिरहेको देख्त सकिन्छ । कसै कसैका बारीमा हल गोरुले जोट्दै गरेको पनि देख्न सकिन्छ । प्रविधिको प्रयोगमा भने वृद्धि भैरहेको छ । गोरु पालेर हलोले खेतबारी जोट्ने परम्पराको अन्त्य हुँदै जाने संकेट देखिदै गएको छ ।
प्रविधिको विकास र युवाशक्ति गाउँमा नहुँदा गोरु पालन र गोरुले खेतबारी जोत्ने प्रचलन हराएजस्तै भएको स्थानीय बताउँछन् । प्रविधिले खेतीपाती गर्न सजिलो भएपनि गाई गोरु पालनको फाईदाबाट भने किसान बञ्चित हुँदै गएका छन् । गाई गोरुको मलमुत्र सहितको प्राङ्गारिक मल बारीमा कमी हुँदै गएको छ ।
रासायनिक मलको प्रयोग बद्ढै गएको छ । यसले उत्पादकत्वमा भने ह्रास लिन थालेको छ । प्रविधिको प्रयोग गरेपनि अर्गानिक खेती तर्फ भने संवेदनशिल हुन जरुरी छ । अनुदानमा प्रविधि वितरण गर्ने स्थानीय तह हुन् या अन्य निकाय सबैले सोच्न आवश्यक छ ।