रोल्पामा खेलकुद मैदान निर्माणका लागि क्लवलाई दुई युवाद्धारा दुई लाख सहयोग

४ मंसिर, रोल्पा । समृद्धि युवा क्लव माडी गापा–३ दाङबाङ रोल्पालाई स्थानीय दुई युवाले दुई लाख नगद सहयोग गरेका छन । समृद्धि युवा क्लवका सल्लाहाकार तथा तीनचुले बहुउद्देश्यीय कृषि तथा पशुपन्छि फर्म घोराही उपमहानगरपालिका–१२ का प्रोप्राइटर समेत रहेका बलबहादुर घर्तीमगरले क्लवलाई एक लाख सहयोग गरेका छन । त्यस्तै माडी–३ दाङबाङकै युवा व्यवसायी तथा राजनीतिज्ञ निर्मल घर्तीमगरले पनि एक लाख सहयोग गरेका छन । क्लवको खेलकुद मैदान निर्माण गर्न उक्त सहयोग रकम प्रदान गरिएको हो ।

गाउँको समग्र खेलकुद क्षेत्रको विकासका लागि आफूले सहयोग गर्दै आएको क्लवका सल्लाहाकार घर्तीमगरले जानकारी दिए । “गाउँमा खेलकुद अभ्यास गर्न एउटा पनि खेलकुद मैदान थिएन । खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान अनिवार्य शर्त हो ।” उनले भने “खेल क्षेत्रको विकास र खेलाडी उत्पादन गर्न पहिलो कुरा पूर्वाधार नभई हुँदैन । त्यही भएर मैलें विगत देखि क्लवलाई विभिन्न सहयोग गर्दै आएको छु ।”

‘राज्यले ग्रामीण वस्तीहरुमा पनि खेलकुदमा लगानी गर्नुपर्छ’ भन्ने मान्यताका साथ आफूले सहयोग गरेको स्थानिय युवा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टी सदस्य निर्मल घर्तीमगरले बताए । “राज्यले खेलकुद क्षेत्रको विकासका लागि युवाहरुलाई प्रत्यक्ष छुने गरी नीति, योजना र बजेट लिनु र दिनु पर्छ । मेरो मान्यता युवाहरुले पनि राज्यबाट बजेट लिन र सही सदुपयोग गर्न सक्नु पर्छ ।” उनले भने “राज्यको सही नीति र युवाको रचनात्मक सहभागिता भयो, भने खेल क्षेत्रको विकास हुन्छ । स्थानिय युवाहरुको सक्रियता र गाउँको आवश्यकतालाई महसुस गरेर मैले पनि सहयोग गरेको हुँ ।”

क्लवले गाउँका चार ठाउँमा खेलकुद अभ्यासका लागि खेलकुद मैदान निर्माण गर्ने योजना यसै वर्ष देखि अघि सारेको छ । चार ठाउँ मध्ये एक ठाउँ माडी–३ को खालीचौरमा हाल खेलकुद मैदान निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । खेलकुद मैदान निर्माणका लागि क्लवले यस वर्षको देउसी भैलो रकम पनि खर्च गरेको छ । त्यस्तै माडी गाउँपालिकाले जेसिबी मेसिन उपलव्ध गराएको छ । पालिकाले दुई सय २० लिटर तेल पनि दिएको छ । खेलकुद मैदान निर्माणका लागि थप दुई सय लिटर तेल दिने माडी गाउँपालिकाले जनाएको छ ।

माडी गाउँपालिकामा खेलकुदको विकासमा सहयोग पु¥याउन जेसिबी मेसिन र इन्धन सहयोग गरिएको माडी गाउँपालिका अध्यक्ष अमर सिंह घर्तीमगरले जानकारी दिए । उनले भने “माडी गाउँपालिकाको खेलकुद विकासमा सहयोग पु¥याउन हामीले पालिकाको तर्फबाट सहयोग गरेका छौं । हामीले युवाहरुको सक्रियता र आवश्यकतालाई मध्यनजर गरेर सहयोग र साझेदारी गरेका हौं । माडी गाउँपालिकाले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएका छ ।”

गाउँका अन्य तीन ठाउँमा पनि चरणबद्ध रुपमा खेलकुद मैदान निर्माण गर्ने कार्य योजना रहेको क्लवका सचिव सर्जन विकले जानकारी दिए । उनले भने “हाम्रो गाउँ तुलनात्मक रुपमा छिमेका अन्य गाउँ भन्दा अलि ठूलो र छरिएको छ । एक ठाउँमा मात्र खेलकुद मैदान निर्माण गर्दा गाउँका युवाहरुलाई खेलकुद अभ्यास गर्न समयका हिसावले पनि अलि गाह्रो हुन्छ । विभिन्न टोललाई पायक पर्ने गरी खेलकुद मैदान निर्माण गरियो भने खेलकुद अभ्यास गर्न सजिलो हुन्छ ।”

दाङबाङ गाउँमा खेलकुद मैदान नहुँदा हाल स्थानिय जीवनाद्यार आधारभूत विद्यालयको प्राङगन प्रयोग गर्ने गरिएको छ । गाउँमा हुने सरकारी र गैर सरकारी संघ संस्थाका बैठक र विभिन्न कार्यक्रममा समेत विद्यालयको प्राङगन प्रयोग गर्नु पर्ने बाध्यता छ । विद्यालय नजिकका पसलहरुमा मध्यपान, धुम्रपानजन्य सामाग्रीको पनि बिक्री गर्ने गरिएको स्थानियले पटक पटक गुनासो गर्ने गरेका छन । विद्यालयलाई मध्यपान, धुम्रपानबाट टाढा राख्नु पर्नेमा विद्यालयका प्रधानाध्यापक खर्क बहादुर बुढामगरले जोड दिए । त्यसको निम्ति सबै सरोकारवालाले सहकार्यले गर्न आवश्यक रहेको उनले औल्याए ।

क्लव, आमा समूह, पैसेरु नाच समूह, चमधारा कबुलियती वन उपभोक्ता समूह, विद्यालय व्यवस्थापन समिति लगायतको अगुवाईमा विद्यालय वरिपरिका पसलमा बालबालिकालाई प्रत्यक्ष अप्रत्यक्ष असर पर्ने सामाग्री बिक्री गर्न रोक लगाउने तयारी गरिएको क्लव अध्यक्ष राज कुमार घर्तीमगरले जानकारी दिए । “विद्यालय वरिपरीका पसलहरु सबैको समन्वय र सहकार्यमा हामीले खनेका खेलकुद मैदान नजिक स्थानान्तरण गर्ने दीर्घकालीन सोच रहेको छ । यसमा सबैको साथ, सहयोग र समर्थन रहने छ भन्ने हामीले आश गरेका छौं ।” क्लवका अध्यक्ष घर्तीमगरले भने “विद्यालयलाई हरेक हिसाबले सुरक्षित बनाउनु हामी सबैको कर्तव्य पनि हो । यसमा अब हामीले ढिला गर्नु भनेको हाम्रा बालबालिकालाई अन्याय गर्नु हो ।”

प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस