रोल्पामा नौलाख राशीको राष्ट्रिय भलिबल प्रतियोगिताको घोषणा

सात प्रदेश र तीन विभागिय टोली सहभागी हुने

१५ मंसिर, रोल्पा । रोल्पामा नौलाख बढी राशीसहितको दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको घोषणा गरिएको छ । आगामी फागुन ३ देखि ८ गतेसम्म जिल्ला सदरमुकाम लिबाङमा हुने राष्ट्रिय भलिबल प्रतियोगिताको शनिबार लोगो तथा पुरस्कार राशी सार्वजनिक गरिएको छ ।

सन–स्टार युवा क्लब रोल्पाले आयोजना गर्ने प्रतियोगितामा पहिलो हुने टिमले पाँच लाख नगदसहित सन–स्टार ट्रफी हात पार्नेछन् ।

त्यस्तै दोस्रो हुने टिमले दुईलाख पचास हजार, तेस्रो टिमले एकलाख र सान्त्वना हुने टिमले पचास हजार प्राप्त गर्ने क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिए । प्रतियोगिताको जानकारी दिँदै अध्यक्ष केसीले रोल्पामा अहिलेसम्मकै ठूलो राशीको खेलकुद कार्यक्रम आयोजना गर्न लागिएको बताए । क्लबको तेह्रौं वार्षिकोत्सवको अवसर पारेर गर्न लागिएको प्रतियोगितालाई जिल्लाकै महत्वपूर्ण उत्सवको रुपमा हेरिएको छ ।

दश टोली सहभागी हुने

आयोजकका अनुसार प्रतियोगितामा दश टोलीको सहभागिता रहने छ । प्रत्येक प्रदेशबाट एकएक समूह, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी दश समूहले प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् । त्यसका साथै उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर लगायतलाई पनि नगदसहित पुरस्कृत गरिने अध्यक्ष केसीले जानकारी दिए । विभागिय टोली तथा प्रदेशहरुमा पनि खेलाडी सहभागिताका लागि समन्वय भइरहेको र दशवटै टोलीलाई रोल्पामा उतार्ने गरी तयारी थालिएको क्लबले जनाएको छ ।

‘रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि’ भन्ने मुल नारा राखिएको प्रतियोगिताका लागि आर्थिक संकलन अभियान पनि जारी राखिएको अध्यक्ष पूर्ण केसीले बताए । ‘हामीसँग अहिले आर्थिक स्रोत त छैन, थोपा थोपाबाट समुद्र बन्छ भन्ने मान्यतालाई शिरोपर गर्दै यो खेलकुदको आयोजना गरेका छौं’ केसीले भने, ‘सहकार्यका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुसँग कुरा भइरहेको छ, सहयोगकै भरमा प्रतियोगिता आयोजना गर्दैछौं ।’ अध्यक्ष केसीले राष्ट्रियस्तरको भलिबल आयोजना गर्नु आफैमा चुनौतीपूर्ण रहेको भन्दै आर्थिक, भौतिक, नैतिक सबै हिसाबले सहयोगको अपिल समेत गरे ।

जिल्ला स्तरीय महिला भलिबल हुने

सोही अवसरमा जिल्लास्तरीय खुला महिला भलिबल प्रतियोगिता पनि हुने भएको छ । स्थानीय तहको सिफारिसमा सहभागी हुने टोलीलाई उक्त प्रतियोगितामा सहभागिता बनाइने छ । जसमा प्रथम हुनेले ५५ हजार, दोस्रोले ३५ हजार, तेस्रोले १५ हजार र चौंथो हुनेले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

करिब ४० लाख खर्च अनुमान

राष्ट्रिय भलिबलसहितको कार्यक्रम सम्पन्न गर्नका लागि करिब ४० लाखको खर्च अनुमान गरिएको छ । ‘राष्ट्रिय खेलाडीलाई यातायात, खान, बस्न, रेफ्री पारिश्रमिक, खेलकुद सामग्री लगायत सबै खर्च अनुमान गर्दा करिब ४० लाख लाग्ने अनुमान गरिएको छ’ क्लबका अध्यक्ष केसीले भने, ‘रोल्पाजस्तो विकट जिल्लामा पनि राष्ट्रियस्तरकै मापदण्ड पु¥याउने गरी सक्दो प्रयास गर्नेछौं ।’ होटल तथा अन्य सुविधाका हिसाबले रोल्पामा त्यति व्यवस्थित नभए पनि खेलाडीले रोल्पालीलाई माया गरेर भएपनि राम्रो मानिदिने अपेक्षा आफूहरुको रहेको अध्यक्ष केसीले बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस