विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या

२३ मंसिर,काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मोरङमा गोली हानी एक शिक्षकको हत्या गरेका छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मोरङमा गोली हानी हत्या गरिएको हो ।

हत्यामा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता संलग्न रहेका पाइएको प्रदेश नम्बर १ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वरबाबु कार्कीले जानकारी दिए ।

शिक्षक श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । घरबाट अपहरण गरेर जंगलमा लगी श्रेष्ठको हत्या गरिएको हो ।

हत्याको कारण भने खुलिसकेका छैन । हत्या गरिएका शिक्षक सरस्वती अधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।

अहिले शिक्षकको हत्या भएको स्थानतर्फ प्रहरी गइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस