रोल्पा । रोल्पामा सम्बन्ध विच्छेद गर्नेहरूको संख्या बढ्दै गएको छ । रोल्पा जिल्ला अदालतमा दर्ता भएका मुद्दाको करिब ३५ प्रतिशत सम्बन्ध विच्छेद सम्बन्धी छन् ।
रोल्पा जिल्ला अदालतका अनुसार अघिल्लो आर्थिक वर्षदेखि जिम्मेवारी सरी आएका १२६ थान र यस आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा २२३ थान नयाँ गरी कुल ३४९ थान मुद्दामध्ये ३५ प्रतिशत सम्बन्ध विच्छेदका रहेका छन् । कुल ३४९ थान मुद्दामध्ये १५७ थान मुद्दा मुद्दा फर्छ्यौट भएका छन् । बाँकी १५३ वटा मुद्दा फर्छ्यौट गर्ने प्रक्रियामा रहेको अदालतले जनाएको छ ।
सानो उमेरमा विवाह गर्ने र उनीहरूबीच विभिन्न घरायसी समस्याले विवाद उत्पन्न भएपछि सम्बन्ध विच्छेद गर्न आउने गरेको जिल्ला न्यायाधीश खिमानन्द भुसालले बताए।
विशेषगरी १७ देखि २५ वर्ष उमेर समूहका युवायुवती सम्बन्ध विच्छेद गर्न आउने गरेका छन्, भुसालले भने, अन्तरजातीय विवाह पनि सम्बन्ध विच्छेदको कारण बनेको छ ।
सम्बन्ध विच्छेदको अर्को कारण वैदेशिक रोजगार रहेको छ । घर गृहस्थी चलाउन भन्दै श्रीमान् विदेश जाने र श्रीमती छोराछोरी पढाउने वा आफूले केही सीप सिक्ने बहानामा शहरमा पस्ने प्रवृत्तिले पनि सम्बन्ध विच्छेदलाई टेवा पुर्याएको भुसालले बताए ।
फैसला भएका मुद्दामा धेरै सङ्ख्यामा सम्बन्ध विच्छेद रहेका छन् भने अन्य मुद्दामा, लिखत बदर, अभद्र व्यवहार, जालसाजी, अंशबन्डा, सवारी ज्यान, माना चामल, जग्गा खिचोला, चेक अनादर, ठगी जस्ता विविध प्रकारका रहेका छन् ।
अदालतको फैसलाबाट विगतदेखि हालसम्म जरिवाना तोकिएको मध्ये ५ लाख ९० हजार ३ सय ९४ रुपैयाँ असुल गरिएको छ । भने १ करोड ३० लाख ६ सय ३७ रुपैयाँ असुल गर्न बाकी रहेको छ । कैद सजाय तोकिएका १ सय ६७ जना फरार भएका अभियुक्त मध्ये यस आर्थिक वर्षको साउनदेखि कार्तिकसम्ममा ९८ जनाबाट कैद असुल गरेको छ। बाकी फरार रहेको अदालत जनाएको छन् ।
अदालतले तोकेको जरिवाना र कैद सजाय भुक्तानी नगरेका अभियुक्तहरूको कुनै पनि सिफारिस र सम्पत्ति रोक्का राख्न स्थानीय तहमा पत्राचार गरिसकेको छौँ र तर स्थानीय तहहरूले अदालतलाई सहयोग नगरेको न्यायाधीश भुसालले बताए ।
अदालतमा वैतनिक वकिल रहेको र ती वकिलले अन्यायमा परेका गरिब, विपन्नको मुद्दामा निःशुल्क बहसपैरवी गर्ने व्यवस्था रहेको भुसाले बताए ।