८ पुष, रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ की एक महिला हराएको एक सातापछि मृत अवस्थामा फेला परेकी छन्। सिस्ने–५ रुकुमकोटकी २९ वर्षीया सुफिया शाह घरबाट हराएको एक सातापछि मृत अवस्थामा फेला परेकी हुन्।
शाह पुस १ गते घरबाट हराएको उनको परिवारले बताएका छन्। परिवारले खोजी गर्दा शाह नभेटिपछि पुस ४ गते जिल्ला प्रहरी कार्यालयलाई खोजीका लागि आग्रह गरेका थिए।शाहलाई खोजी गर्ने क्रममा बुधबार बिहान स्थानीयले सिस्ने–५ कै तारागाउँ नजिक मृत फेला पारेपछि प्रहरीलाई जानकारी दिएका थिए।
शाह बाटोबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए।
उनको घरपरिवारका अनुसार उनी लामो समयदेखि मानसिक रोगबाट ग्रसित रहेकाले हिँडडुल गर्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने डिएसपी श्रेष्ठले बताए।
शव पोष्टमार्टमका लागि रुकुमपूर्व अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान अघि बढाएको डिएसपी श्रेष्ठको भनाइ रहेको छ।