संसद विघटनविरुद्ध ‘प्रचण्ड–नेपाल’ समूहले पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने

९पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी  बैठकले पुस १४ गते संसद विघटनविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय कमिटी बैठकले संसद विघटनको कदमविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

बबरमहलमा बसेको केन्द्रीय कमिटिको बैठकले भोलि केन्द्रीय सदस्य, सासंदहरू लगायत माइतिघर मण्डलामा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा जाने र दिउसो २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने, १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने, १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने र १४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले पुस २० गतेभित्र नगर र गाउँपालिकासम्म बैठक, भेला गर्ने, २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने र काठमाडौँ लगायतका शहरहरूमा संसद विघटनविरुद्ध दैनिक आन्दोलन गर्ने निर्णय समेत गरेको छ ।

केन्द्रीय कमिटिको बैठकले प्रवक्ता नारायणकाजि श्रेष्ठको नेतृत्वमा २ हजार ५ सय १ सदस्यीय सघर्ष समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस