प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णय जनताप्रतिको विश्वासघातः अध्यक्ष केसी

फाइल फाेटाे

९पुस, बुटवल। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय आत्मघाती र जनताप्रतिको विश्वासघात भएको बताएका छन् ।

बिहीबार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले प्रधानमन्त्रीको सिफारिसलाई राष्ट्रपतिले तत्काल सदर गर्नु पनि अप्रजातान्त्रिक र जनताको हितविपरीत कार्य भएको समेत बताए ।

आफ्नै दलभित्रको आन्तरिक किचलो र विवाद मिलाउन नसकी संसद विघटन गर्नु अनुचित र अव्यवहारिक कदम भएको भन्दै केसीले अदालतले संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे ।

केसीले गणतन्त्र, धर्मनिरपेक्ष र राष्ट्रियतामाथि नै खतरा भइरहेका बेला प्रधानमन्त्रीको निर्णयले त्यस्ता शक्तिहरूलाई बाटो खोलिदिएको धारणा पनि राखेका थिए ।

केसीले राष्ट्रिय जनमोर्चाले सुरूदेखि नै संघीयताको विरोध गर्दै आएको र अहिले पनि विरोध यथावत रहेको उल्लेख गर्दै संघीयता खारेजी गर्नुको विकल्प नभएको बताए ।

प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस