९पुष, रोल्पा । नेकपा (एमाले) रोल्पाले छैठौँ जिल्ला अधिवेशन आगामी पुष २३ गते त्रिवेणी गाउँपालिका वडा नम्बर २ नुवागाउँमा गर्ने निर्णय गरेको छ । एमाले जिल्ला कमिटी रोल्पाको लिबाङमा बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।

 लिबाङ स्थित पार्टी कार्यालय सम्पन्न दोस्रो पूर्ण बैठकले जिल्ला अधिवेशनका लागि १० वटै पालिकाले पुष १७ गते भित्र प्रतिनिधि चयन गर्नुपर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको छैठौँ जिल्ला अधिवेशन सम्पन्न पार्नका लागि जिल्ला आयोजक कमिटीका सबै सदस्यहरु, ५० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनौट गर्ने ( कुल संख्याको ३३ प्रतिशत अनिर्वाय महिला पर्ने गरी), जिल्लाका जनवर्गीय संगठनहरुबाट अनिर्वाय एक महिलासहित ३ जना, जिल्ला सल्लाहकार कमिटीबाट ५ जना, प्रत्येक गा.पा./न.पा.काे भूगोल तर्फबाट १ महिला सहित ३ जना र दलितको हकमा भने २५ सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने मापदण्ड बनाएको छ ।

बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न कमिटीहरु समेत गठन गरेको छ । जसको अनुसार विजयकुमार घर्तीमगरको संयोजकत्वमा २२ सदस्यीय मूल व्यवस्थापन समिति, दयाराम डाँगीको संयोजकत्वमा प्रचार—प्रसार समिति, निमप्रसाद रोकाको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र ठाकुरप्रसाद वलीको संयोजकत्वमा स्वंयसेवक परिचालन समिति गठन गरेको एमाले जिल्ला कमिटी रोल्पा सचिव निमप्रसाद रोकाले बताएका छन् ।

बैठकले जिल्ला अधिवेशन हुनुभन्दा अघि रोल्पाका सबै पालिकाहरुमा पार्टीका केन्द्रीय तथा प्रदेश सदस्य तथा जिल्ला पदाधिकारीहरुको सहभागितामाम बैठक तथा भेलाहरु सम्पन्न गर्ने निर्यण समेत गरेको एमाले रोल्पाले जनाएको छ ।

एमाले जिल्ला कमिटी रोल्पा अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा तथा एमाले केन्द्रीय सदस्य कुमार दसौदीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरु ईश्वरी घर्ती र यमुना रोका, लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य शान्तकुमार वली, प्रदेश सदस्यहरु हरीप्रसाद वली, गंगाराम बुढा, अमृत बुढा, विक्रम मल्ल लगायतको आतिथ्यता रहेको थियो ।