११पुस, रोल्पा । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली सरकारको कदमविरुद्ध राष्ट्रिय जनमोर्चा रोल्पाले विरोध सभा गरेको छ ।
सरकारको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी भन्दै राष्ट्रिय जनमोर्चा रोल्पाले शनिबार सुलिचौर बजारमा विरोध सभा गरेको हो ।
विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेखनाथ विष्टले दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय आत्मघाती र जनताप्रतिको विश्वासघात भएको बताएका छन् ।
अध्यक्ष विष्टले प्रधानमन्त्रीको सिफारिसलाई राष्ट्रपतिले तत्काल सदर गर्नु पनि अप्रजातान्त्रिक र जनताको हितविपरीत कार्य भएको समेत बताए ।
आफ्नै दलभित्रको आन्तरिक किचलो र विवाद मिलाउन नसकी संसद विघटन गर्नु अनुचित र अव्यवहारिक कदम भएको बताए । अध्यक्ष विष्टले ओली सरकारको कदम तत्काल सच्याउन सबै दललाई सडकमा उत्रन आग्रह गरे ।
राष्ट्रिय जनमोर्चाले सुरूदेखि नै संघीयताको विरोध गर्दै आएको र अहिले पनि विरोध यथावत रहेको उल्लेख गर्दै संघीयता खारेजी गर्नुको विकल्प नभएको उनले बताए ।
पार्टी भित्रको द्वन्द्वले संसद विघटनसँगै पार्टी विभाजन हुनुले देशमा गम्भीर स्थिति सिर्जना भएको विष्टले टिप्पणी गरे ।