
१२रोल्पा। राष्ट्रिय प्रजातन्त्र पार्टी रोल्पाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी रोल्पाका नेता कार्यकर्ताहरुले आईतबार निमित्त प्रमुख जिल्ला अधिकारी नवराज शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्रमा समकालिन ईतिहासको संभवतः सर्वाधिक कठिन घडीबाट मुलुक गुज्रीरहेको उल्लेख गरिएको छ ।
कोभिड–१९ले नराम्रोसँग थलिएको अवस्थामा प्रधानमन्त्रीको असंवैधानिक सिफारिसमा राष्ट्रपतिद्धारा प्रतिनिधि सभा विघटन पश्चात देश अत्यन्त गम्भिर संवैधानिक र राजनैतिक संकटमा फसेको राप्रपा रोल्पाले उल्लेख गरेको छ ।
भ्रष्टचार, महंगी, बेराजगारी समस्या, धर्म परिवर्तन जस्ता कुरा रोकथाममा सरकार उदासिन असफल रहेको राप्रपाले आरोप लगाएको छ ।
ज्ञापन पत्रमा राप्रपा रोल्पाले २२ वटा माग समेत समावेश गरेको छ ।
धर्मनिरपेक्षता खारेजी, राजसंस्था सहित सबै राजनीतिक शक्ति अटाउने गरि गोलमेच सम्मेलन, वर्षमा कम्तिमा ५ लाख रोजगारी सिर्जना, बेरोजगारहरुका लागी रोजगारी भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
पौष २७ गते पृथ्वी जयन्ती, फाल्गुन ७ गते त्रिभुवन जयन्ती तथा प्रजातन्त्र दिवस मनाउन तथा कृष्णजन्माष्टमी र रामनवमीमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ ।
राप्रपा रोल्पाले कक्षा १० सम्म संस्कृत शिक्षा अनिवार्य गर्न समेत माग गरेको छ ।
राप्रपा रोल्पाका अध्यक्ष अम्मरबहादुर थापाक्षेत्री र कार्यकारी अध्यक्ष गिरबहादुर महरा क्षेत्रीद्धारा हस्ताक्षरित ज्ञापन पत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी नवराज शर्माले मागहरु जस्ताको तस्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने बताए ।
ज्ञापन पत्र बुझाउन राप्रपा रोल्पाका अध्यक्ष अम्मरबहादुर थापा क्षेत्री, कार्यकारी अध्यक्ष गिरबहादुर महराक्षेत्री, लुम्बिनी प्रदेश सदस्य देवविक्रम शाह, जिल्ला कमिटी सचिव खिमबहादुर केसी लगायतका नेता कार्यकर्ता पुगेका थिए ।