
रोल्पा आइटिएफ तेक्वान्दो संघको आयोजनामा शनिबारबाट ‘प्रथम परिवर्तन भर्चूअल तेक्वान्दो आइटिएफ राष्ट्रिय खुला प्याट्रन प्रतियोगिता २०७७’ जारी छ । भर्चूअल माध्यमबाट आयोजना गरिएको खेलको शनिबार परिवर्तन गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष डाँगीले कोरोनाका बीचमा विभिन्न विकल्पहरुको खोज गरी खेलकुदको आयोजना गर्नु आफैमा चुनौतीपूर्ण भएपनि खेलाडीका लागि गौरवको विषय भएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य सुवास श्रेष्ठ, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष तथा एसियायी तेक्वान्दो महासंघका कार्यकारी सदस्य अन्जन धमला, नेपाल आईटीएफका उपाध्यक्ष तथा रेफ्री प्रमुख प्रविण कुमार कार्की लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा देशै भरिका ६ सय ५० भन्दा बढी खेलाडीहरु उपस्थित भएको आयोजक रोल्पा आईटीएफ तेक्वान्दो संघका अध्यक्ष बिक्रम बाँठामगरले जानकारी दिनुभयो । शनिबार भएको कालो पेटी तेस्रो डान समूहको खेलमा आयोजक रोल्पाका प्रशिक्षक बिरेन्द्र कुवर प्रथम, पाल्पाका उज्ज्वल गहतराज दोस्रो र रुकुम पूर्वका बिजय पुन तेस्रो भएको संघका सचिव कृष्णप्रसाद बाँठामगरले जानकारी दिनुभयो ।
रोल्पालाई १ स्वर्ण, १ रजत पदक
रोल्पा आईटिएफ तेक्वान्दो संघको आयोजनामा भइरहेको प्रतियोगितामा रोल्पाले १ स्वर्ण १ रजतसहित २ कास्य पदक हात पारेको छ । कालो पेटी तेस्रो डानमा राँकको ताप्ला र जायचौरका प्रशिक्षक बिरेन्द्र कुवरले स्वर्ण पदक, द मुन तेक्वान्दो एकेडेमीका खेलाडी तिलक बुढामगरले पहेलो पेटीमा रजत पदक र द मुन तेक्वान्दो एकेडेमीकै प्रशिक्षक दिपक बिकले कालो पेटी दोस्रो डान र खेलाडी सन्देश सुनारले पहेलो पेटी प्याट्रनमा कास्य पदक हात पारेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिता १५ गतेसम्म चल्नेछ ।