“राेल्पा परिवर्तनकाे पक्षमा छ, त्यसकाे परिणाम स्थानीय चुनावले देखाईसक्याे!”

१५ पुस,राेल्पा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल र माधव नेपाल समूहलाई लक्षित गर्दै सडकबाट सरकार नबन्ने बताएका छन्। सरकारले निर्वाचनको मिति घाेषण गरेको बताउँदै उनले चुनावमा जाने हिम्मत देखाउन प्रचण्ड-नेपाललाई आग्रह समेत गरेका हुन्।

राेल्पाकाे सुलिचाैरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै नेता पाेखरेलले प्रचण्ड-नेपाल समूहले प्रथम अध्यक्षमाथि संगीन आरोप लगाएर पदच्यूत गर्ने षडयन्त्र गर्दा, त्यो षड्यन्त्र नै आजको संकटको कारक भएको स्पष्ट पारे। उनले भने- “पार्टी एकताको मर्म, पार्टी विधानलाई बेवास्ता गरेर, आम जनता र कार्यकर्ताको भावनालाई लत्याएर पार्टी विभाजन गर्ने काम प्रचण्डको अगुवाईमा भयो।”

नेता पाेखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीकाे प्रतिनिधिसभा विघटन गर्ने कदम संविधान सम्मत भएको समेत बताएका छन्। भेलामा उनले भने “राेल्पा परिवर्तनकाे पक्षमा छ। त्यसकाे परिणाम स्थानीय तहकाे चुनावमा पनि देखिसक्याे। प्रदेश सरकारले राेल्पामा थुप्रै बिकासका कामलाई प्राथमिकता दिएकाे छ।”

भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह-ईन्चार्ज बैजनाथ चाैधरी, केन्द्रीय सदस्य गाेकुल घर्ती, केन्द्रीय सदस्यहरु कुमार दसाैदी, शान्तकुमार वली, बालाराम बुढा, ईश्वरी जिएमलगायतका नेता र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राेल्पा क्षेत्र नं. १ का कार्यकर्ताहरुकाे सहभागीता रहेकाे थियाे।

भेलाकाे अध्यक्षता नेकपा नेता खिमचन्द्र पुनले गरेका थिए, भने बाेम बहादुर पुनकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन दिपक बिष्टले गरेका थिए।

प्रकाशित मिति : २०७७ पुष १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस