पुस ७, दाङ । गएको कार्तिक १७ गते तत्कालिन दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङ सरुवा भएर जाँदै हुनुहुन्थ्यो । प्रशासकीय नेतृत्वमा राम्रो छवि बनाउनुभएका कुरुङबाङले दाङबाट विदा भएर जाँदै गर्दा उाँले दाङमा ५ महिना बस्दा गरेका एक दर्जन बढी कामको फेसबुकबाट जानकारी गराउनुभयो ।
जसमा एक नम्बरमै थियो लामो समयदेखि रोकिएको घोराही–तुलसीपुर चारलेन सडक खण्डको काम सुरु हुने बारेमा । उहाँले कार्तिक १७ गते विदा भएर जाँदै गर्दा यस सडक खण्डको काम तिहार पछि धमाधम हुने कुरा निश्चित भएको कुरालाई आफ्नो उपलब्धि ठान्नुभएको थियो ।
कुरुङ्बाङले भन्नुभएको थियो, ‘मेरो पाँच महिनाको छोटो कार्यकालमा हाम्रो सामुहिक उपलब्धिहरु यि हुनः (१) कोमामा रहेको फोरलेन सडकको निर्माण कार्यको सुरुवात यो दिपावली पछि फुल फेजमा शुरु हुनेछ ।’ कार्तिक २० गते भाइटिका थियो । दाङका नागरिकले उहाँले भनेकै जस्तै गरेर तिहार पछि चारलेन बनाउने नाममा अस्तब्यस्त बनाइएको सडकको काम सुरु हुने अपक्षा पनि गरेका थिए । तर काम सुरु भएन ।
यस्तै मंसिर १० गते घोराही–तुलसीपुर सडक खण्डको काम ठेक्का लिएका भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिका प्रबन्धक प्रविन ब्रह्मदेव पाण्डेयले घोराहीमा जिल्लाका सुरक्षा प्रमुखसहित राजनीतिक दलहरुसँग तामझामका साथ पत्रकार सम्मेलन गर्नुभयो । काम सक्नु पर्ने मितिमा कामको शुभारम्भ भन्दै पत्रकार सम्मेलन गर्नुभएका उहाँले एक हप्ताभित्रमा काम धमाधम हुने र एक वर्षमा निर्माणको काम सक्ने दाबी गर्नुभयो ।
उहाँले पहिले काम गरेको स्थानीय पेटि ठेक्दार अनुप पाण्डेको अष्टभैरव निर्माण सेवाले काम नगरेको र उनीसँग सम्झौता तोडेर आफै काम गर्ने पनि दाबी गर्नुभएको थियो । तर उहाँले भनेको एक हप्तामा कुनै काम देखिएन ।
पाण्डेले काम सुरु हुन्छ भनेको दुई हप्ता पछि पनि काम सुरु भएन । त्यसपछि मंसिर २४ गते घोराहीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)को पत्रकार सम्मेलन थियो । त्यसमा घोराही–तुलसीपुरको काम कहिले हुन्छ भनेर पत्रकारले प्रश्न गरेका थिए । उहाँले ३ दिन भित्रमा काम सुरु हुने बताउनुभयो । तर तीन दिनमा पनि काम भएको देखिएन ।
स्मरणरहोस यदि यस सडकको काम ठेकदारले समयमै गरेको भए कुरुङ्बाङले काम फुलफेजमा सुरु हुन्छ भन्ने समयमा निर्माण भइसकेको हुन्थ्यो । चारलेनको चिल्लो सडकमा नागरिकहरुले आरामदायी यात्रा गरेका हुन्थे । ड्राइभरले ढुक्क भएर फुलफेजमा गाडी हाँकेका हुन्थे ।
तर विडम्बना ठेकदारको लापर्वाहीले सडक निर्माणको काम सक्ने त परैको कुरा छ ७ प्रतिशत बढी काम हुन सकेन । दुईलेनको सडक भताभुङ्ग पारेर एकलेन बनाइयो । सडकको दायाँबायाँ ठूला–ठूला खाडलहरु बने । पिच सडक मर्मत हुन नसकेपछि ठाउँ–ठाउँ खाल्टाहरु परे ।
जसले गर्दा घोराही–तुलसीपुरको यात्रा जोखिमपूर्ण बन्यो । अहिले पनि जोखिमपूर्ण नै छ । सडक बनाउने नाममा एकैपटक घोराहीदेखि तुलसीपुरसम्म भत्काउँदा दैनिक हजारौँ नागरिकले सास्ती खेप्नु प¥यो । घोराही–तुलसीपुर ब्यस्त सडक पनि हो । पाँच–पाँच मिनेटमा सार्वजनिक बस मात्र छुट्नछन् ।
यहि व्यस्त सडकको निर्माणको कामलाई ठेकदारले लापर्वाही गरिदिँदा निर्माण सुरु भएको ३३ महिनामा १७ जना नागरिकले ज्यान गुमाइसकेका छन् । अझै जोखिम कायमै छ ।
सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिले बारम्बार सडक निर्माणमा व्यवास्ता गर्दा ३० महिनामा सकिनु पर्ने काम ३३ महिना वित्दासमेत ६÷७ प्रतिशत बढी हुन सकेको छैन । तथ्य इन्जिनियरिङले ३० महिनामा सक्ने गरि सन् २०१९ फेब्रअरीमा निर्माणको जिम्मा लिएको थियो । कम्पनीले सम्झौता अनुसार सन् ०२१ अगष्टभित्र सडकको काम सक्नु पर्ने हो ।
तर काम नै नगरेर सडक अलपत्र पारिदिएको छ। कम्पनीका प्रबन्धक पाण्डेय भारतमै बस्नुहुन्छ । उहाँ ठेक्का लिन नेपाल समेत आउनुभएको थिएन । उहाँले मंसिर १० गते पत्रकार सम्मेलनमा पहिलो पटक दाङ आएको समेत बताउनुभएको थियो ।
तथ्यले फेरि आफै गरेन काम तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिले अब घोराही–तुलसीपुर सडकको काम आफैले काम गर्ने बताए पनि फेरि नगरेर अन्य तीन वटा पेटी ठेकदारलाई निर्माणको जिम्मा दिएको छ । यसअघि पेटी ठेकदार अनुप पाण्डेको अष्टभैरव निर्माण सेवाले जिम्मा लिएकै कारण काम नभएको बताउँदै उनीसँग सम्झौता तोडेर तथ्यले आफैले गर्ने भने पनि फेरि अन्य तीन कम्पनीलाई निर्माणको जिम्मा दिएको हो ।
घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तिखौवासम्मको सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा बेडा बाबा कन्स्ट्रक्सन, विमला निर्माण सेवा र शिवपुरी निर्माण सेवालाई दिएको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिका आधिकारीक प्रतिनिधि बिजय पाठकले जानकारी दिनुभयो।
प्रतिनिधि पाठकका अनुसार अब बबई नदिदेखि चौघेरासम्म पहिलो खण्डको ५ किलोमिटर बेडा बाबा कन्स्ट्रक्सन, घोराहीको डिके पेट्रोलपम्पदेखि खैरासम्मको १२ किलोमिटर बिमला निर्माण सेवा र बाँकी खैरादेखि तुलसीपुरको हात्तिखौवासम्मको १२ किलोमिटर सडकको जिम्मा शिवपुरी निर्माण सेवाले गर्नेछ ।
तीन वटा निर्माण कम्पनीले उक्त सडक खण्डमा १४.४६ किलोमिटर सडक चारलेन र १३.७३ किलोमिटर सडक दुई लेन सडकका रुपमा निर्माण गर्नेछन् ।
निर्माण कम्पनीका अनुसार बबई नदीदेखि–कुटवा खोलासम्म ६.५३ किलोमिटर, सर्रादेखि नारायणपुर बजारसम्म ३ किलोमिटर र खैरादेखि दुधरासम्मको ३.७ किलोमिटर सडक दुई लेन र घोराहीको डिके पेट्रोल पम्पदेखि सर्राचोकसम्मको ४ किलोमिटर,नारायणपुर बजारदेखि खैरासम्म २ किलोमिटर र दुधरासदेखि तुलसीपुरको हात्तिखौवासम्म ८.३१ किलोमिटर सडक चारलेन बनाउने गरी सम्झौता भएको छ ।
काममा किन ढिलाई भइरहेको छ? फोरलेन सडक निर्माणको सुभारम्भ गरेको २२ दिनपछि पुन: तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिले जिल्ला प्रशासन कार्यालयमा शुक्रवार पुस २ गते पत्रकार सम्मेलनको आयोजना गरी सडक निर्माणका लागि भैरहेको कामका बारेमा जानकारी गराएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सडक निर्माणको जिम्मा पाएका तीन वटै पेटी कम्पनीका प्रतिनिधिहरुलाई राखेर तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिका प्रतिनिधि बिजय पाठकले वितेको २२ दिनको अवधिमा सडक निर्माणका लागि कम्पनीले कागजी प्रक्रिया र डाटा संकलनको काम गरिरहेको बताउनुभयो।
सडक निर्माणका लागि प्रक्रियागत कामसँगै भौतिक प्रगति अघि बढाउनका लागि कानुनी तथा प्राविधिक प्रक्रिया मिलाउने क्रममा अहिले सडकमा भौतिक प्रगति देखिने गरि काम गर्न नसकेको बताउनुभयो ।
‘पहिले निर्माणको जिम्मा पाएको ठेकेदारको लापरवाहीका कारण कागजी र कानुनी प्रक्रिया मिलाउँदा काम गर्न ढिलाई भएको छ । यो काम मिलाउने अब अन्तिम चरणमा छौ’, प्रतिनिधि पाठकले भन्नुभयो, ‘यो काम सकेपछि सडकको निर्माणको कामले गति लिनेछ । इन्जिनियरिङ गरेको कन्सल्टेन्सीले कागजात उपलब्ध नगराउदा काम गर्न समस्या भएको छ । अहिले त्यो काम मिलाउन अहिले लागी परेका छौ ।’ उहाँले उक्त काम एक हप्ताभित्र सकिने समेत पनि जानकारी दिनुभएको थियो ।
निमार्ण कम्पनीको कागजी प्रक्रिया अघि बढाएको, निर्माणका लागि चाहिने माटो ढुंगा खोज्ने काम भएको, स्ट्याम जेभी कन्सल्टेन्सीसँग सडकको पूरा इन्जिनियरिङ डिजाईन ल्याउने तथा माटो परिक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने काम भएको बताएको छ । पहिलो ठेकेदार पक्षले ल्याब नदिएपछि माटो परिक्षणका केन्द्रमा पठाउनु पर्दा सडकमा काम गर्न ढिलाई हुन पुगेको बताइएको छ ।


