रोल्पामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित १२ जना उम्मेदवारविरुद्ध उजुरी

१६वैशाख, रोल्पा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारका विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेका छन् ।

रोल्पाका विभिन्न गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित १२ जना उम्मेदवार विरुद्ध उजुरी परेको निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।
नेपाली कांग्रेसबाट लुङग्री गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका जनक खड्का विरुद्ध उजुरी परेको छ । उनलाई जानकी निमार्ण सेवा मार्फत सुनिलस्मृति गाउँपालिका र लुङग्री गाउँपालिकामा बेरुजु तिर्न बाँकी रहेको उजुरीमा उल्लेख गरिएको छ

यस्तै सुनछहरी गाउँपालिकाकमा नेकपा एमाले, नेपाली कांग्रेस र विप्लव निकट स्वतन्त्रको साझा गठबन्धनबाट उपाध्यक्ष पदमा नेपाली काङग्रेसबाट उम्मेदवारी दिएका कोम बहादुर बुढा विरुद्ध पनि उजुरी परेको छ । स्थानीय निर्वाचन ऐन २०६३ को दफा १३ बमोजिम कोमबहादुर बुढाले संचालन गर्दै आएका फर्म उच्च हिमाल निर्माण सेवा कालो सूचिमा परेको उजुरीमा उल्लेख गरिएको छ ।

यस्तै सुनछहरी गाउँपालिका ४ र ६ मा नेपाली कांग्रेस, एमाले र स्वतन्त्रको गठबन्धनबाट दलित महिला सदस्य पदमा उम्मेदवार २ जना महिला स्वास्थ्य स्वयं सेविकामा बहाल रहेको करमा उजुरी परेको छ ।

यस्तै सुनछहरी गाउँपालिका वडा नं ७ मा नेकपा एमालेको तर्फबाट वडा सदस्यमा मनोनयन दर्ता गराएका खिमानसिङ रोका विरुद्ध चोरी पैठारी अन्तर्गत सजाय, जरिमान भुक्तान गरी आएको समय चार महिना पनि पुरा नभएको कसुरमा उजुरी परेको छ ।

यस्तै सुनछहरी गाउँपालिका ५ मा नेकपा एमालेबाट सदस्य पदमा उम्मेरदावार दर्ता गराएका पुर्ण बुढामगर विरुद्ध जनकृषि सहकारी संस्था लिमिटेड ८ वर्ष देखि नविकरण नगरेको कर छली तथा संस्थाको आर्थिक हिनामिना गरेको कसुरमा उजुरी परेको छ । यस्तै जिल्लाको माडी गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका विजय घर्ती विरुद्ध निजको श्रीमतिले सहकारीमा रकम हिनामिना गरेको कसुरम उजुरी परेको छ ।

माडी गाउँपालिका ४ को वडा अध्यक्षमा उम्मेदवार दिएका एमालेका बल प्रसाद वि.क विरुद्ध जेलबाट सजाय भुक्तान गरि आएकाले समयको मापदण्ड नपुगेको कसुरमा उजुरी परेको छ ।

यस्तै वडा नं १ बाट अध्यक्ष पदमा उम्मेदवार दर्ता गराएका मोहनसिङ वली विरुद्ध सहकारीको रकम पेस्की लिएको भनि उजुरी परेको छ । वलीले एमालेबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

माडीकै १ नं वडा सदस्यमा मनोनयन दर्ता गराएका रुपलाल घर्ती विरुद्ध रकम हिनामिना गरेकोले अक्तियारमा मुद्दा परेको भनि उजुरी परेको छ । घर्तीे नेकपा माओवादी पार्टीबाट सदस्य पदमा मनोनयन दर्ता गराएका थिए।

माडी गाउँपालिका ४ मा नेकपा माओवादीको तर्फबाट महिला सदस्यमा मनोनयन दर्ता गारएका प्रमाली बुढा विरुद्ध महिला स्वास्थ्य स्वयंम सेविकामा बहाल रहेको कसुरमा उजुरी परेको छ ।

यस्तै जिल्लाको सुनिलस्मृति गाउँपालिका ७ मा सदस्य पदमा मनोनयन दर्ता गराएका उम्मेरदवार विरुद्ध उपभोक्ता समितिमार्फत काम गर्दा बेरुजुरहेको कसुरमा उजुरी परेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस